शीर्षकहरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास प्रदर्शनमा निषेध, प्रशासनको कडाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास प्रदर्शनमा निषेध, प्रशासनको कडाइ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका र्‍याली, जुलुस तथा भीडभाडजन्य कार्यक्रम गर्न निषेध गरेको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा विमानस्थल क्षेत्रलाई अत्यन्त संवेदनशील मान्दै शान्ति–सुरक्षा, आवागमन व्यवस्थापन तथा सार्वजनिक सुव्यवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उल्लेख छ। सूचनामा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला, नाराजुलुस तथा हड्तालजस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरिएको छ।

प्रशासनका अनुसार फागुन १ गते विमानस्थल र आसपास क्षेत्रमा केही समूह तथा राजनीतिक दलले प्रदर्शन, भेलाजम्मा र र्‍याली आयोजना गर्ने आशयका विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गरेको पाइए पनि त्यसबारे काठमाडौं प्रशासनसँग पूर्वस्वीकृति लिइएको छैन।

निर्वाचन आचारसंहिता लागू भइसकेको वर्तमान अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको जनाउँदै प्रशासनले निर्वाचनविरोधी भनिएका समूहको घुसपैठ हुनसक्ने सम्भावनासमेत औँल्याएको छ। साथै, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, र विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै कडाइ गरिएको जनाएको छ।

विमानस्थलसम्म आवतजावत गर्ने यात्रुको सहज आवागमन सुनिश्चित गर्न, सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन अवरुद्ध नहोस् भन्ने उद्देश्यले पनि उक्त निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ। सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि प्रेरित वा उक्साउने कार्य नगर्नसमेत चेतावनी दिइएको छ।

null