काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधिमा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ। प्रति शेयर आम्दानी (वार्षिकीकरण) ४६ रुपैयाँ २७ पैसा कायम भएको छ।
यस अवधिमा कम्पनीको सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो। तर कुल आय १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँमा सीमित हुँदै १.५ प्रतिशतले घटेको छ।
कम्पनीको ईबीआईटीडीए ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ, जुन २.६० प्रतिशतले घटेको हो। कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा झर्दा ४.५९ प्रतिशतले गिरावट आएको छ।
कम्पनीका अनुसार भाइबर, ह्वाट्सएपजस्ता ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने आगमन कल घट्दा अन्तरआवद्धता आयमा करिब ६.१४ प्रतिशतले कमी आएको छ। यसले समग्र भ्वाइस र एसएमएस आम्दानीमा दबाब सिर्जना गरेको छ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै जाँदा ब्याज आम्दानी ३२ प्रतिशतले घटेको छ। लगानीको मूल्य परिवर्तनले पनि आयमा असर पारेको कम्पनीले जनाएको छ।
त्यसैगरी, कर्मचारी बीमा र योगदानमा आधारित पेन्सन दायित्व बढ्दा कर्मचारी खर्च ११.५ प्रतिशतले वृद्धि भएको छ। दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि उच्च लागत व्यहोर्नुपरेको तथा दररेटसम्बन्धी नीतिगत परिवर्तनका कारण सेवा शुल्क कटौती हुँदा राजश्वमा अपेक्षित वृद्धि हुन नसकेको उल्लेख गरिएको छ।
लेखा नीतिअनुसार जिन्सी मौज्दातमा थप व्यवस्था गर्दा इम्पेयरमेन्ट खर्च १८ करोड ३५ लाख रुपैयाँले बढेको छ भने चालु कर अघिल्लो वर्षको तुलनामा ५५.५६ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि, विदेशी विनिमय दरमा आएको परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा भने १५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
राष्ट्रिय सञ्चार सेवाको जिम्मेवारी बहन गर्दै नेपाल टेलिकमले कम प्रतिफल हुने दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिएको जनाएको छ।
आर्थिकन्यूज