काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले पुस मसान्तसम्म ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४१ प्रतिशत व्यवसाय वृद्धि गरेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।
यद्यपि भदौ महिनामा भएको ‘जेन जी’ आन्दोलन र असोजको बाढीपहिरोका कारण उच्च बीमा दाबी परेपछि कम्पनी नाफाबाट घाटातर्फ धकेलिएको छ। अघिल्लो वर्ष पुस मसान्तसम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको सोही अवधिमा ४ करोड ४७ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५.७१ प्रतिशतले बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। तर कुल खर्च ६२.१५ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाघ्दा नाफामा दबाब परेको देखिन्छ। अभिकर्तालाई दिइने कमिशन पनि १९.८२ प्रतिशतले बढेर ३ करोड २२ लाख रुपैयाँ पुगेको छ।
प्रतिशेयर आम्दानी (EPS) १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक बनेको छ। सोल्भेन्सी अनुपात भने ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ कायम छ।
२ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।
आर्थिकन्यूज