शीर्षकहरू

चार दिनको गिरावटपछि नेप्सेमा हरियाली, कारोबार ११ अर्ब नाघ्यो

चार दिनको गिरावटपछि नेप्सेमा हरियाली, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौँ। लगातार चार कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन सामान्य सुधारसहित हरियालीमा फर्किएको छ। बजारमा सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ।

बिहीबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा बन्द भयो। सेन्सेटिभ इन्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट ०.५६ अंकले उकालो लाग्यो।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूह घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले उकालो लाग्यो भने जलविद्युत् उपसमूह करिब १ प्रतिशतले बढ्यो। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा भने सामान्य गिरावट देखियो।

कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै ढाई अर्ब रुपैयाँले बढेको छ। बुधबार ८ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार ३३७ स्टकका १ लाख ६ हजार १८ पटकका कारोबारबाट ११ अर्ब १० करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। कुल २ करोड ७७ लाख ८० हजार कित्ता सेयर हात फेरिए।

जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताको आकर्षण उच्च देखियो। मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै २८ रुपैयाँ ५० पैसाले बढेर ३१३ रुपैयाँ ७० पैसामा पुगेको छ। रसुवागढी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत र खानी खोला हाइड्रोपावरको ७ प्रतिशतले बढ्यो।

विपरीत रूपमा कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घट्यो। होटल तथा पर्यटन उपसमूहमा पनि दबाब देखिँदा सो उपसमूहको परिसूचक १.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख र रिडी पावरको करिब ४२ करोड रुपैयाँको कारोबार भएको छ।

लगातारको गिरावटपछि बजारमा देखिएको यो सामान्य सुधारलाई लगानीकर्ताले ‘राहतको सास’का रूपमा लिएका छन्। तर आगामी कारोबार दिनमा बजारले कस्तो दिशा लिन्छ भन्नेबारे भने लगानीकर्ताको नजर अब मौद्रिक नीति, बैंक ब्याजदर र तरलताको अवस्थातर्फ केन्द्रित हुनेछ।

null