टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल सुरु गरिएको हो। यसले प्रयोगकर्तालाई विश्वसनीय जानकारीसँग जोड्दै हानिकारक कन्टेन्ट हटाउने टिकटकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
यस पहलअन्तर्गत टिकटकले निर्वाचन आयोग, नेपालसँग निर्वाचनको निष्पक्षता र नैतिकतालाई सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ। साथै, टिकटकले आयोग परिसरमा निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने विषयको सन्दर्भमा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो, जसमा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको नैतिकता सम्बन्धि बुझाईलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
एपभित्रको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो, जसले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी पाउन सहज बनाउँछ। यस केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने जानकारी, भ्रामक सूचना पहिचान गर्ने सुझाव तथा आयोगका आधिकारिक स्रोतहरूसँग प्रत्यक्ष जोड्ने लिंक उपलब्ध छन्। साथै, टिकटकले सम्बन्धित कन्टेन्ट र सर्चहरूमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै ‘इलेक्सन सेन्टर’मा मार्गनिर्देशन गर्नेछ।
“निर्वाचन कुनै पनि लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादमा प्रभाव पार्ने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी बुझेको छ। यस सहकार्यमार्फत हामीले सुसूचित सहभागिताको प्रवर्द्धन गर्ने, शान्तिपूर्ण वातावरण सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित स्थान प्रदान गर्ने लक्ष्य राखेका छौं।
‘इलेक्सन सेन्टर’ले नेपाली प्रयोगकर्तालाई उनीहरू जहाँ छन्, त्यहीँबाट मतदानसम्बन्धी आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ,” दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले भने।
यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई प्लेटफर्ममा उपलब्ध कन्टेन्ट र अकाउन्टबारे आवश्यक सन्दर्भ जानकारी उपलब्ध गराउने व्यापक प्रयासको एक हिस्सा हो। टिकटकले हानिकारक भ्रामक सूचना र भ्रामक व्यवहारविरुद्ध कडा नीति लागू गरेको छ, जसमा एड्भान्स मोडरेशन प्रविधि र विश्वभरका हजारौं सुरक्षा विज्ञहरूको समर्थन रहेको छ। यसमा नेपालका लागि समर्पित ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको छ।
यी नीतिअनुसार हानिकारक भ्रामक सूचना निषेध गरिएको छ। अपुष्ट कन्टेन्टमा लेबल लगाइने, सिफारिसका लागि अयोग्य बनाइने वा सेयर गर्नु अघि प्रयोगकर्तालाई पुनर्विचार गर्न सुझाव दिइने जस्ता उपाय अपनाइन्छ। सामग्रीको सत्यता मूल्याङ्कन गर्न टिकटकले विश्वभरका २० भन्दा बढी तथ्य जाँच गर्ने संस्थासँग सहकार्य गर्दै आएको छ।
टिकटक आफ्नो प्लेटफर्ममा स्वाभाविक अन्तरक्रियालाई कमजोर पार्ने प्रयासविरुद्ध सधैं सतर्क छ। गोप्य प्रभावहरूको सञ्चालन, नक्कली पहिचान तथा बोट नेटवर्क जस्ता कृत्रिम संलग्नता निषेध गरिएको छ। यस्ता गतिविधिविरुद्ध गरिएका कारबाहीहरू टिकटकले आफ्नो ‘ट्रान्सपेरेन्सी सेन्टर’ मार्फत प्रत्येक महिना सार्वजनिक गर्दछ।
प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले यथार्थपरक AI-निर्मित कन्टेन्ट(AIGC) लाई अनिवार्य रूपमा लेबल गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, C2PA Content Credentials जस्ता प्रविधि प्रयोग गरी अन्य प्लेटफर्ममा सिर्जित AI कन्टेन्ट समेत पहिचान गर्न सकिन्छ। लेबल गरिएको भए पनि सार्वजनिक व्यक्तिलाई गलत रूपमा समर्थन गरेको देखाउने वा हैरानी/दुर्व्यवहार देखाउने जस्ता हानिकारक AI कन्टेन्ट टिकटकमा अनुमति छैन।
आगामी आम निर्वाचनको सन्दर्भमा निर्वाचन नैतिकता सम्बन्धी आफ्ना प्रयासबारे टिकटकले आफ्नो ‘ग्लोबल इलेक्सन इन्टेग्रिटी हब’ मार्फत निरन्तर अपडेट सार्वजनिक गर्दै जानेछ।
टिकटकको बारेमा:
टिकटक छोटो मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो। हाम्रो लक्ष्य सिर्जनशीलतालाई प्रेरित गर्नु र आनन्द फैलाउनु हो। टिकटकका विश्वव्यापी कार्यालयहरू लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायत स्थानमा रहेका छन्।
आर्थिकन्यूज