काठमाडौं । आईसीसी टी-
२० विश्वकपअन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ। वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भयो।
सुपर–८ को सम्भावना जोगाउन जित अनिवार्य रहेको खेलमा नेपाली ब्याटिङ लाइनअप टिक्न सकेन। इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गरेको नेपालले यस खेलमा निराशाजनक सुरुआत गर्यो। आक्रामक सट खेल्ने प्रयासमा अधिकांश ब्याटर छिट्टै पेभिलियन फर्किए।
आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। करण केसी १८ रनमा अविजित रहे। कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का मद्दतमा २३ रन जोडे पनि लामो इनिङ खेल्न सकेनन्।
ओपनर आसिफ शेखले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १७ रनमा बोल्ड भए। कुशल भुर्तेल ५ रनमा आउट हुँदा लोकेश बम र गुलशन झा समान ३ रनमै समेटिए। सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए भने नन्दन यादव रनआउट भए।
इटालीका बलरले नियमित अन्तरालमा विकेट लिँदै नेपाललाई ठूलो स्कोर बनाउन दिएनन्।
दुवै टोली पहिलो जितको खोजीमा छन्। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग ७३ रनले हारेको थियो।
१२४ रनको लक्ष्य पछ्याउन इटाली केहीबेरमा ब्याटिङमा उत्रनेछ।
आर्थिकन्यूज