काठमाडौँ। मोरङको विराटचोकस्थित आतिथ्य क्षेत्रमा क्रियाशील नेपालिरिका होटल लिमिटेडले सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको हो।
उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ। यस सम्बन्धमा नेपालिरिका होटलका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच माघ २९ गते द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ।
कम्पनीका अनुसार सार्वजनिक निष्कासनमार्फत प्राप्त पुँजीलाई व्यवसाय विस्तार, पूर्वाधार सुदृढीकरण तथा सेवा गुणस्तर अभिवृद्धिमा उपयोग गरिनेछ। यस कदमले कम्पनीको पारदर्शिता बढाउनुका साथै मोरङ प्रदेशमा पर्यटन तथा आतिथ्य उद्योगमा लगानी विस्तारको अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
विराटचोकमा सञ्चालनमा रहेको नेपालिरिका होटलमा १४६ वटा सुसज्जित कोठा तथा सुइट छन्। होटल परिसरमा विवाह, सम्मेलन तथा कर्पोरेट कार्यक्रम आयोजना गर्न मिल्ने बहुउद्देश्यीय हलहरू उपलब्ध छन्।
त्यसैगरी दमकस्थित नेपालिरिका होटलमा ४९ वटा कोठा तथा सुइट, रेस्टुरेन्ट र बार सुविधा सञ्चालनमा छन्। परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लकसमेत रहेको उक्त होटलले ५० देखि १५०० जनासम्मका कार्यक्रम आयोजना गर्न मिल्ने हल र स्विमिङ पुल सुविधा प्रदान गर्दै आएको छ।
आर्थिकन्यूज