शीर्षकहरू

मोस्का दाजुभाइको शतकीय साझेदारीमा नेपाल १० विकेटले पराजित, सुपर-८ सम्भावना धुमिल

मोस्का दाजुभाइको शतकीय साझेदारीमा नेपाल १० विकेटले पराजित, सुपर-८ सम्भावना धुमिल

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। वानखेडे रंगशालामा बिहीबार इटालीले नेपाललाई १० विकेटले पराजित गर्दै विश्वकप इतिहासकै ठूलो हार नेपाली टोलीलाई चखायो।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। जस्टिन मोस्का (६० नटआउट) र एन्थोनी मोस्का (६२ नटआउट) ले पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी गर्दै नेपालका बलरलाई निरिह बनाए। पावरप्लेमै ६८ रन जोडेपछि इटाली सहज जिततर्फ अघि बढेको थियो।

नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, दीपेन्द्रसिंह ऐरी र अन्य बलर प्रभावहीन देखिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो। सुरुआतदेखि नै विकेट गुमाएको नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे। करण केसी १८ रनमा अविजित रहे।

इटालीका स्पिनर बेन मानेन्टी र क्रिशन कलुगामागे घातक सावित भए। मानेन्टीले किफायती बलिङ गर्दै दुई विकेट लिए भने कलुगामागेले तीन विकेट हात पारे।

लगातार दोस्रो हारसँगै नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा झरेको छ। इटाली भने पहिलो जितसँगै सुपर–८ सम्भावना कायम राख्न सफल भएको छ।

नेपालले अब आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। तर बाँकी खेल जिते पनि सुपर–८ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहनेछ।

२०१४ पछि विश्वकपमा जित निकाल्न नसकेको नेपालको प्रयास यसपटक पनि अधुरै रहने संकेत देखिएको छ।