नयाँदिल्ली। अमेरिकासँग भएको नयाँ व्यापार सम्झौताविरुद्ध भारतीय किसानहरूले बिहीबार नयाँदिल्लीसहित प्रमुख शहरहरूमा प्रदर्शन गरेका छन्। अमेरिकी सामानमा कर घटाउने सहमतिले भारतीय कृषिमा गम्भीर असर पार्ने र कृषकको जीविकोपार्जन जोखिममा पर्ने उनीहरूको चेतावनी छ।
गत हप्ता घोषणा गरिएको सम्झौताप्रति किसान संगठनहरूले कडा असन्तुष्टि जनाउँदै यसलाई अमेरिकी कृषि कम्पनीहरूसामु ‘पूर्ण आत्मसमर्पण’को संज्ञा दिएका छन्। झन्डा र ब्यानरसहित सडकमा उत्रिएका किसान तथा ट्रेड युनियनका सदस्यहरूले विभिन्न शहरमा र्याली निकालेका थिए। केही स्थानमा प्रहरीसँग सामान्य झडपसमेत भएको जनाइएको छ। आयोजकहरूले सार्वजनिक गरेका तस्वीरहरूमा हजारौँ प्रदर्शनकारी सहभागी देखिएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक सञ्जालमार्फत किसानहरूको जीविकोपार्जनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।
सम्झौताअनुसार भारतले अमेरिकी औद्योगिक वस्तु तथा केही खाद्य र कृषि उत्पादनमा लगाइँदै आएको कर हटाउने वा घटाउने सहमति जनाएको छ। त्यसको बदलामा अमेरिकाले भारतबाट निर्यात हुने कपडा, तयारी पोशाक, छालाका जुत्ता तथा छालाजन्य वस्तु, प्लास्टिक, रबर, जैविक रसायन र केही मेसिनरी सामग्रीमा १८ प्रतिशतसम्म कर लगाउने भएको छ।
मोदी सरकारले भने दुग्ध, कुखुरापालनजस्ता संवेदनशील कृषि क्षेत्रलाई सम्झौताको दायराबाहिर राखिएको दाबी गर्दै किसानको चिन्ता कम गर्ने प्रयास गरेको छ।
भारतमा कृषि क्षेत्रले ४५ प्रतिशतभन्दा बढी जनसंख्यालाई रोजगारी तथा जीविकोपार्जनको आधार प्रदान गर्दै आएको छ। साना र प्रायः कम उत्पादनशील व्यक्तिगत फार्ममा आधारित कृषि प्रणालीलाई ऐतिहासिक रूपमा विदेशी प्रतिस्पर्धाबाट जोगाउन विभिन्न सरकारले हस्तक्षेप गर्दै आएका छन्।
बिहीबारको प्रदर्शनले सन् २०२०–२१ मा भएको लामो किसान आन्दोलनको स्मृति ताजा गराएको छ। त्यतिबेला महिनौँसम्म चलेको विरोधका कारण सरकारले कृषि सुधारसम्बन्धी कानुन फिर्ता लिन बाध्य भएको थियो।
आर्थिकन्यूज