वीरगञ्ज। नेपालको राजनीतिमा मधेस सधैँ निर्णायक शक्तिका रूपमा रहँदै आएको छ ।भारतीय सिमासंग गासिएकोले पनि मधेसी जनमत कम्युनिष्ट भन्दा लोकतान्त्रिक अर्थात डेमोक्रेडिट तर्फ बढी झुकाव रहेको देखिन्छ ।
मधेस प्रदेशका ८ जिल्लामध्ये पर्साको आफ्नै राजनैतिक र व्यापारिक महत्त्व छ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति घर्किदै (नजिकिँदै )गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ चुनावी कुरुक्षेत्रमा परिणत भएको छ ।
ठोरीको जङ्गलदेखि पकाहा मैनपुरको समथर भूभागसम्म फैलिएको यो क्षेत्रमा पुराना र नयाँ भन्दा उम्मेदवारको चरित्रको चर्चा चुलिएको छ । यसपालीको चुनामा जेनजी आन्दोलनको नाउमा केहि नयाँ उदीयमान शक्तिहरू ‘छिर्के’ हाल्ने रणनीतिबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
मुख्यतः नेपाली कांग्रेसका अनुभवी नेता एवं पूर्वमन्त्री रमेश रिजाल , नेकपा (एमाले) का जालिम मियाँ मन्सुरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर शाक्यको उदयले यसपालिको चुनाव त्रिकोणात्मक हुने बताइन्छ । यो निर्वाचन क्षेत्र अधिकांस भारतीय सिमासंग जोडिएकोले यहाको चुनाव सधै रोचक देखिएको छ ।
पर्सा नेपाली कांग्रेसी राजनितिको उर्वर भूमि हो । रमेश रिजालका पिता मेघराज शर्मा राणा शासन र पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेतामध्ये एक थिए। सोही प्रेरणाबाट राजनीतिमा लागेका रिजाल नेविसंघ हुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बने। २०४६ सालको जनआन्दोलन र त्यसअघि भएका सत्याग्रहमा उनी पटक–पटक जेल बसेका नेता हुन्।
सहिद थिरबम मल्ल, तेजबहादुर अमात्य, मेघराज शर्मा, आत्माराम ओझा लगायतका प्रजातान्त्रिक योद्धाहरू पर्साका सम्मानित र पूजनीय नेता हुन्।
काठमान्डौको मधेसप्रतिको उदासीनताका कारण समय–समयमा आन्दोलन तथा क्षेत्रीय शक्तिहरूको उदय हुँदै आएको छ । सविधान घोषणा पछि भएको मधेस आन्दोलन र ६ महिनाको नाकावन्दीको रापताममा पर्सा जिल्लाका अधिकांस क्षेत्रमा मधेसी दलहरु उम्मेदवा चुनाव जिते ।मधेस आन्दोलनको इपिक सेन्टरको रुपमा रहेको पर्सा जिल्लामा मधेसी दलहरुको अवस्था दयनिय भएको बताइन्छ ।
यसपालिको चुनावमा मन्त्री समेत भइसकेको रिजालसँग प्रश्न उठाएका छन,‘कृषि, सडक, सिँचाइ र खानेपानी जस्ता आधारभूत आवश्यकताहरू किन पूरा नभए ? भूमिहीन तथा सुकुम्बासीका लागि लालपूर्जा वितरण गर्ने नारा कागजमै सीमित भएको भन्ने गुनासो समेत गरिएको छ ।
प्रतिनिधिसभाका दुई प्रतिस्पर्धी उम्मेदवार रमेश रिजाल र जालिम मियाँ दुवै जना जगरनाथपुर गाउँपालिकाका निवासी हुन् । यस क्षेत्रमा पटक–पटक सांसद हुँदै मन्त्रीसमेत बनेका रमेश रिजालसँग अपराध जगतका बाहुबलीको रूपमा स्थापित जालिम मियाँबीच दोस्रो पटक भिडन्त हुँदैछ ।
तर यसपटक चुनावी मुद्दा दलगत सिद्धान्त वा विकासभन्दा पनि उम्मेदवारको चरित्र र भ्रष्टाचारमा केन्द्रित भएको देखिएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रमेश रिजाल अधिकांश समय जिल्ला सदरमुकाम वीरगञ्ज वा राजधानीमा बस्ने भएकाले समयमा जनसेवा दिन नसकेको चुनावी आरोप मियाँ पक्षको छ ।
जालिम मियाँ पञ्चायतकाल देखि बाहुबली र आपराधिक चरित्रका व्यक्ति भएको रुपमा चिनिन्छन । वन फँडानीको आरोपमा उनले पञ्चायत व्यवस्था र २०४६ सालको जनआन्दोलन पछि पनि ६ महिना जेल सजाय काटेको उल्लेख गरिन्छ । पञ्चायत व्यवस्थादेखि नै स्थानीय तहमा राम्रो पकड राख्दै आएका जालिम मियाँ माथि पर्सामा आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।
जालिम मियाँको परिवार भारतीय सीमा क्षेत्रमा पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्टका रूपमा सक्रिय रहेको भारतीय आरोप छ । मियाँको पाकिस्तान देखि सिवानका बाहुबली सहबुद्धिन परिवारसँग राम्रो सम्बन्ध रहेको बताइन्छ ।
भारतीय सञ्चार माध्यमहरूले जालिम मियाँ भारतीय सीमा क्षेत्रमा सक्रिय पाकिस्तानी जासुस तथा आईएसआईका एजेन्ट भएको आरोप लगाउँदै पटक–पटक समाचार प्रशारण गरेका छन्।
कोरोना महामारीका समयमा आइ एस आइ एजेन्ट जालिम मियाँले कोरोना संक्रमित विदेशीहरूलाई भारतमा प्रवेश गराएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले ठूलो हल्ला –खल्ला नै मचाएका थिए ।
बन तस्करको रुपमा स्थापित मियाँ२०४६सालको आन्दोलन पछि सुरुमा नेपाली कांग्रेसमा प्रवेश गरेका पनि रिजालकै कार्यशैलीको विरोध गर्दै नेकपा माओवादीमा प्रवेश गरेका थिए । पर्सा प्रहरीले जालिम मियाँका छोराविरुद्ध दर्ता गरेको बलात्कार मुद्दामा तत्कालीन गृह मन्त्री बादलले सहयोग नगरेको विरोधमा प्रचन्डबाट रुष्ट हुदै गाँउमै बोलाएर ओलीबाट माला लगाएर एमालेमा प्रवेश गरे।
जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा पाँच वर्षको अवधिमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै जालिम मियाँविरुद्ध अख्तियारमा १४ वटाभन्दा बढी उजुरीमाथि छानबिन चलिरहेको बताइन्छ ।
२०७९ सालको निर्वाचनमा रमेश रिजालले ५ हजार ५ सयभन्दा बढी मतान्तरले मन्सुरीलाई पराजित गर्दै विजय हासिल गरेका थिए। उक्त निर्वाचनमा रिजालले ३१,२२४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जालिम मियाँ मन्सुरीले २५,६७१ मत ल्याएका थिए।
यता रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य पूर्व प्रहरी सहायक निरीक्षक तथा ‘चाइनिज व्यापारी’का रूपमा चिनिन्छन् । नेपाली कांग्रेसका नेता रमेश रिजालकै सिफारिसमा प्रहरी सहायक निरीक्षकमा जागिर पाएका शाक्य उठती–पुठतीमा बदनाम भएपछि जागिर छाडेको बताइन्छ । राजधानीको बौद्धमा चीनबाट सामान आयात गरी राम्रो व्यापार चलाएका शाक्य, श्रीमतीसँगको छोडपत्रपछि जेन–जी आन्दोलनको रापतापमा तराई झरेको उनका आलोचकहरू बताउँछन् ।
२०७९ सालमा रास्वपाले यहाँ जम्मा १,९४८ समानुपातिक मत पाएको थियो । तर फेरिएको राष्ट्रिय राजनीति र नयाँ पुस्ताको विद्रोही मनोवृत्तिका कारण शाक्यको “घण्टी”ले यसपटक युवा मत तान्ने दाउमा छन ।
जेन–जी आन्दोलन र बालेनको मधेसी कार्डको रापतापमा चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शाक्य ‘छिर्के’ विजय हासिल गर्ने रास्वपाका कार्यकर्ताहरुको दावी छ ।
शाक्यको स्थायी घर ठोरी भए पनि उनी अधिकांश समय काठमाडौँमा बस्ने र अवसरको खोजीमा भौतारिने व्यक्तिका रूपमा चिनिन्छन् । उनलाई राजनीतिज्ञभन्दा ‘खाँटी व्यापारी’का रूपमा चित्रण गर्ने मतदाताले उनलाई कत्तिको विश्वास गर्छन् भन्ने कुरा रोचक हुनेछ ।
नयाँ–पुराना भनेर मात्र हुँदैन, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध व्यक्ति चाहिएको मतदाताहरूको माग छ ।“नयाँ हुँदैमा राम्रो वा पुरानो हुँदैमा नराम्रो भन्ने हुँदैन,” हरिहरपुरका बासुदेव तिवारी भन्छन्, “उम्मेदवारको पृष्ठभूमि कस्तो छ भन्ने थाहा भइहाल्छ। जस्ता छन्, त्यही आधारमा हामीले छनोट गर्छौं।”
यसपटकको निर्वाचनमा जयप्रकाश थारुले नेकपाबाट उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्यका रूपमा वजनदार छवि बनाएका थारुले ऐन मौकामा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएपछि एमाले क्याम्पमा खैलाबैला मच्चिएको छ ।थारुको आगमनले एमालेका असन्तुष्ट कार्यकर्ताहरूको साथ पाउने देखिए पछि जालिम मियाँ मन्सुरीको जित्ने सम्भावना कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।
जालिम मियाँले मुस्लिम समुदायमा धार्मिक–साम्प्रदायिक कार्ड प्रयोग गरेर भोट बटुल्न खोजेको आरोप अन्य उम्मेदवारहरूले लगाएका छन् । उनको विगतको राजनीतिक तथा सामाजिक चरित्र बुझेका जनताले उनलाई सजिलै विश्वास गरिहाल्ने अवस्था नदेखिएको टिप्पणी गरिएको छ ।
अनिल तिवारी