शीर्षकहरू

सात महिनामा सवा ४० अर्ब विदेशी लगानी प्रतिबद्धता, साना उद्योगमा उच्च आर्कषण

सात महिनामा सवा ४० अर्ब विदेशी लगानी प्रतिबद्धता, साना उद्योगमा उच्च आर्कषण

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा ४० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार साउनदेखि माघ मसान्तसम्म ५२४ उद्योगमा लगानीको योजना स्वीकृत भएको हो।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि माघ मसान्तसम्ममा ५२४ उद्योगमा  कुल ४० अर्ब २८ करोड ३३ लाख ८० हजार बराबरको लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा स्वचालित मार्ग (अटोमेटिक रुट) रुटबाट ३५१ उद्योगका लागि ३ अर्ब २५ करोड ९ लाख तथा अप्रुभल रुटबाट १७३ उद्योगमा ३७ अर्ब ३ करोड २४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । उद्योगहरुबाट २० हजार ८९६ रोजगारी सृजना हुने आँकलन गरिएको छ । 

चालु आवको ७ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३४ उद्योगका लागि ४ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ३३ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

माघ मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३७ उद्योगमा ४४ करोड ९ लाख रुपैयाँ र अप्रुभल रुटबाट १२ उद्योगमा ६० करोड ६२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । माघ महिनामा कुल ४९ उद्योगका लागि १ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ । 

null

साना उद्योगमा उच्च आर्कषण 

चालु आर्थिक वर्षको ७ महिनामा ८ वटा ठूला, ८ वटा मध्यम र ५०७ वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । विभागकाअनुसार गत माघमा मात्र ४८ वटा साना उद्योग तथा एउटा ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ । 

गत साउनदेखि माघ महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २८८ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १४ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रका ३५ उद्योगमा २ अर्ब ४० करोड, पर्यटनमूलक क्षेत्रका १५० उद्योगमा १० अर्ब ८६ करोड र सेवामूलक क्षेत्रका ३४ उद्योगमा ३ अर्ब ५४ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

हालसम्म विभागले ७ हजार ७६२ वटा उद्योगमा ६ खर्ब ७६ अर्ब ४८ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।

बिजनेस भिसा लिने लगानीकर्ता घटे

विभागको सार्वजनिक तथ्यांक अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी घटेका छन् । ताजा तथ्यांक अनुसार ७ महिनामा १ हजार ३८२ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा २ हजार ११७ सय जनाले यस्तो भिसा माग गरेका थिए । पुस महिनामा मात्रै २६७ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।

त्यसैगरी, विदेशी लगाीकर्ताका प्रतिनिधि पनि यो अवधिमा घटेका छन् । ७ महिनामा २०२ जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २३२ जनाले प्रतिनिधिले भिसा लिएका थिए । माघ महिनामा मात्रै २३ जनाले विदेशी लगाीकर्ताका प्रतिनिधिले विजनेस भिसा लिएका छन् । पछिल्लो ७ महिनामा ४२९ जनाले डिपेन्डेन्ट भिसा मागेका छन् । गत आवको यसै अवधिमा ५८२ जनाले डिपेन्डेन्ट भिसा लिएका थिए । माघ महिनामा मात्रै ६२ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् ।

१६ अर्ब २६ करोड लाभांश, ४ अर्ब १९ करोड रोयल्टी फिर्ता 

नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा १६ अर्ब २६ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५३ करोड रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो । गत माघ महिनामा मात्रै ५ अर्ब ९३ करोड लाभांश फिर्ता लैजान स्वीकृति पाएका छन् । 

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अविधमा ४ अर्ब १९ करोड २५ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको हो । रोयल्टीबापत ७ लाख ९३ हजार १८३ अमेरिकी डलर, १५ करोड ९८ लाख भारु बाहिर लैजान स्वीकृत गरिएको छ । चालु आर्थिक वर्षको माघमा मात्रै रोयल्टीबापत २८ करोड ८८ करोड फिर्ता दिन स्वीकृत दिएको छ । 

null