काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासिक अवधिमा नियामकीय प्रावधान उल्लंघन गर्ने तीन वाणिज्य बैंकमाथि कडा कारबाही गरेको छ । केन्द्रीय बैंकले एनआईसी एशिया, ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाहीको दायरामा ल्याएको हो।
केन्द्रीय बैंकले सबैभन्दा कडा कारबाही एनआईसी एशिया बैंकमाथि गरेको छ । राष्ट्र बैंकका अनुसार बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई जनही २-२ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ ।
केन्द्रीय निर्देशनको पटक-पटक उल्लंघन गर्नुका साथै लिखित आदेशको समेत पालना नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम बैंकका तत्कालीन अध्यक्ष अग्रवाल र तत्कालीन सीईओ) न्यौपानेलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको २०८२ सालमा गरिएको स्थलगत निरीक्षणमा गम्भीर कैफियत भेटिएको राष्ट्र बैंकले जनाएको छ।
बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) कायम नगरेको, कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको र कोर बैंकिङ प्रणालीमा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’ राखी पुनः सिर्जना गर्न सक्ने प्राविधिक कमजोरी रहेको पाइएको छ। उक्त विषयमा बैंकका सीईओलाई सचेत गराइएको छ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जा सुरक्षणसम्बन्धी कागजातमा ग्राहकको सहिछाप नगराई धितोले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको, स्प्रेड दर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको तथा त्रैमासको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी सो रकम पुरानो ऋण असुलीमा प्रयोग गरेको पाइएको छ। यी गम्भीर प्रावधान उल्लंघनपछि बैंकको सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गराइएको छ।
आर्थिकन्यूज