शीर्षकहरू

रास्वपाका तीन नेता एउटै अभियानमा : अर्याल, श्रेष्ठ र खरेलबीच पारस्परिक साथ र एकताको सन्देश

रास्वपाका तीन नेता एउटै अभियानमा : अर्याल, श्रेष्ठ र खरेलबीच पारस्परिक साथ र एकताको सन्देश

काठमाडौं । काठमाडौं उपत्यकाका तीन क्षेत्रमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू एकअर्कालाई साथ दिँदै चुनावी मैदानमा उत्रिएका छन् । पार्टीभित्रको एकता र पारस्परिक सहकार्यलाई बलियो बनाउँदै उनीहरूले साझा लक्ष्य र एजेन्डासहित अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

रास्वपा सभापति रबी लामिछानेले स्थापना गरेको पार्टीलाई कठिन समयमा जोगाएर अघि बढाएको भन्दै नेताहरूले डीपी अर्यालप्रति विशेष सम्मान व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार अर्याललाई समर्थन गर्दै रास्वपा नेता जगदीश खरेलले “रबीले पार्टी बनाए, अर्यालले पार्टी बचाए” भन्ने नारासहित अघि बढ्नुपर्ने बताए । उनका अनुसार पार्टी निर्माण गर्ने नेतृत्वलाई जति माया र सम्मान गरिन्छ, संकटमा पार्टी जोगाउने नेतृत्वलाई पनि त्यति नै सम्मान आवश्यक छ ।

ललितपुर–२ का उम्मेदवार जगदीश खरेलले अबको लक्ष्य केवल जित हासिल गर्नु मात्र नभई दुई तिहाइ नजिकको बहुमत, कम्तीमा १५१ सिट जितेर एकलौटी सरकार बनाउने रहेको दाबी गरे । राजनीतिक अस्थिरताले जनतामा निराशा बढेको उल्लेख गर्दै उनले रास्वपाबाट नागरिकले ठूलो अपेक्षा गरेको बताए ।

यसैगरी काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठले नागरिकको मुख्य माग सुशासन र आत्मसम्मान भएको बताए । देशमा देखिएको बेथिति र भ्रष्टाचार सुशासन अभावकै परिणाम भएको जनताले बुझेको उल्लेख गर्दै उनले रास्वपाले ताजा जनादेशसहित परिवर्तनको आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

तीनै नेता आ–आफ्नो क्षेत्रमा उम्मेदवार भए पनि संयुक्त रूपमा भेटघाट, छलफल र कार्यक्रम गर्दै एकअर्कालाई सघाइरहेका छन् । पार्टीभित्रको सहकार्य र एकतामार्फत आगामी पाँच वर्षमा देशको मुहार फेर्ने आधार तयार गर्ने उनीहरूको साझा प्रतिबद्धता छ ।