शीर्षकहरू

गहुँको समर्थन मूल्य निर्धारण प्रक्रियामा सरकार, १० जिल्लामा लागत अध्ययन सुरु

गहुँको समर्थन मूल्य निर्धारण प्रक्रियामा सरकार, १० जिल्लामा लागत अध्ययन सुरु

काठमाडौं । कृषि विभागले गहुँको न्यूनतम समर्थन मूल्य तोक्न आवश्यक अध्ययन प्रक्रिया सुरु गरेको छ। किसानलाई उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्न विभागले १० जिल्लामा स्थलगत अध्ययन थालेको जनाएको छ ।

अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने बीउ, मल, श्रम लागत, मुद्रास्फीति तथा बजार मूल्यको विश्लेषण गरिनेछ । उत्पादन लागतका आधारमा तयार पारिएको वैज्ञानिक मूल्य सिफारिसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।

मन्त्रालयले उत्पादन लागतसहित अन्य सान्दर्भिक आधार समेटेर मूल्य प्रस्ताव तयार गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी मन्त्रिपरिषद्मा पेस गरिनेछ । सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य स्वीकृत गर्नेछ ।

सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद गरिने व्यवस्था छ । यस वर्ष करिब २२ लाख मेट्रिकटन गहुँ उत्पादन हुने अनुमान गरिएको विभागले जनाएको छ ।