शीर्षकहरू

निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हाल काठमाडौं उपत्यका आसपासका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ, जुन तीन दिनभित्र सकिने अनुमान गरिएको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

पहिलो चरणमा १० लाख ९८ हजार २ सय नमूना मतपत्र छापी विभिन्न जिल्लामा पठाइएको थियो। दोस्रो चरणमा दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ तथा रुजु सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल दुई करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ।

हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

छपाइ सम्पन्न भएका मतपत्रमध्ये कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको छ। यसमा सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रहरू समावेश छन्। यसरी आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानीलाई तीव्र गतिमा अघि बढाउँदै निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।