काठमाडौँ । सिंगापुरमा हालै सम्पन्न हवाईजहाज प्रदर्शनीमा गल्फस्ट्रिम एरोस्पेस ले प्रस्तुत गरेको ‘जी७००’ निजी जेट दर्शकको विशेष आकर्षणको केन्द्र बन्यो । व्यावसायिक र सैन्य प्रयोजनका विभिन्न विमानबीच प्रदर्शनीमा राखिएको यो जेट अत्याधुनिक प्रविधि, सुविधासम्पन्न संरचना र विलासी डिजाइनका कारण चर्चामा रह्यो ।
विमानभित्र आरामदायी सोफासहितको बैठक कक्ष, टेलिभिजन, सावरसहितका सुत्ने कोठालगायत सुविधा छन् । पछिल्लो समय यस्ता लक्जरी निजी जेटको माग र बिक्री विश्वव्यापी रूपमा बढ्दो क्रममा रहेको देखिन्छ । विश्वभर ‘अल्ट्रा हाई नेटवर्थ’ अर्थात् अति धनाढ्य व्यक्तिहरूको संख्या बढेसँगै यस्ता विलासी साधनप्रतिको आकर्षण पनि चुलिएको हो ।
बीबीसी की पत्रकार सुरञ्जना तेवारीले तयार पारेको भिडियो रिपोर्टअनुसार विमान निर्माता कम्पनीहरूले पछिल्लो समय विशेषगरी एसियाली अति धनाढ्यहरूलाई लक्षित गर्दै ५ करोडदेखि ६ करोड अमेरिकी डलरसम्म (करिब ८-९ अर्ब रुपैयाँ) पर्ने निजी जेट निर्माण गरिरहेका छन् । यात्रामा समय र सुविधालाई उच्च प्राथमिकता दिने ग्राहक वर्गका कारण यस्ता विमानको बजार विस्तार हुँदै गएको रिपोर्टमा उल्लेख छ ।
बीबीसीका अनुसार सन् २०२० देखि २०२५ को अवधिमा ३ करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका अल्ट्रा हाई नेटवर्थ व्यक्तिहरूको संख्या विश्वभर ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यही प्रवृत्तिका कारण विमान निर्माताहरूले आम यात्रुका लागि भन्दा सीमित तर अत्यन्त धनी ग्राहक समूहलाई लक्षित सेवा विस्तारमा ध्यान केन्द्रित गर्न थालेका छन् ।
धनी तथा प्रभावशाली व्यक्तिहरूको तथ्यांक विश्लेषण गर्ने अल्ट्राटा को ‘वर्ल्ड अल्ट्रा वेल्थ रिपोर्ट २०२५’ अनुसार ३ करोड अमेरिकी डलरभन्दा बढी कुल सम्पत्ति भएका व्यक्तिको संख्या सन् २०२५ को जुनसम्म ५ लाख १० हजार ८ सय १० पुगेको छ । सन् २०२० मा यो संख्या करिब ३ लाख थियो भने सन् २०२४ मा ४ लाख ८४ हजार ५ सय २० पुगेको थियो । सन् २०२४ मा मात्रै अति धनाढ्यको संख्या १२ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।
बजार विश्लेषकहरूका अनुसार यो वृद्धिमा प्रविधि क्षेत्रको तीव्र विकास र सेयर बजारको सकारात्मक प्रभाव प्रमुख कारण हुन् । आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल सम्पत्तिमा बढ्दो लगानी, अन्तर्राष्ट्रिय घरजग्गा बजारको मूल्यवृद्धि र पुरानो पुस्ताबाट नयाँ पुस्तामा ठूलो परिमाणमा सम्पत्ति हस्तान्तरण हुनुले पनि अति धनाढ्यको संख्या बढ्न सहयोग गरेको रिपोर्टले निष्कर्ष निकालेको छ ।
आर्थिकन्यूज