शीर्षकहरू

कांग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने, चुनावी अभियानको शुभारम्भ हुँदै

कांग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने, चुनावी अभियानको शुभारम्भ हुँदै

काठमाडौं । नेपाली कांग्रेसले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र केन्द्रीय कार्यालयबाटै जारी हुने जानकारी गराएका हुन् ।

उनका अनुसार निर्वाचन आयोगले तोकेको तालिकाअनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी चुनावी प्रचार अभियान औपचारिक रुपमा सुरु गर्नेछ । साथै फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा आयोजना गरिने उनले जानकारी दिए ।

प्रवक्ता चालिसेले कांग्रेसले निर्वाचनलाई जनतासामु एजेण्डा प्रस्तुत गर्ने, बहस गर्ने र लोकतान्त्रिक संस्कार सुदृढ गर्ने अवसरका रुपमा उपयोग गर्दै आएको उल्लेख गरे । उनले पार्टीले सभ्य, सन्तुलित र तर्कपूर्ण राजनीतिक अभ्यासलाई प्राथमिकता दिने तथा आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता दोहो¥याए ।

उनले पछिल्ला दिनमा केही दल र समर्थकबाट आचारसंहिता उल्लंघनका घटना भएको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराइएको बताए । कांग्रेस भने निर्वाचन आचारसंहिताको निःशर्त पालना गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

पार्टीभित्र आन्तरिक एकता सुदृढ बन्दै गएको उल्लेख गर्दै उनले निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरु क्षेत्र–क्षेत्रमा खटिएको जानकारी दिए । उनले सभापति गगनकुमार थापाको नेतृत्वमा तयार भएको प्रतिज्ञापत्रले समृद्धि, सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भविष्यको खाका प्रस्तुत गर्ने दाबी गरे ।

कांग्रेसले यसपटकको प्रतिज्ञापत्रलाई जनताले दैनिक सन्दर्भका रुपमा प्रयोग गर्न सक्ने ‘जिवित दस्तावेज’का रुपमा ल्याउने तयारी गरेको जनाएको छ ।

प्रेस विज्ञप्ति जस्ताको त्यस्तै,

प्रेस विज्ञप्ति

प्रिय सञ्चारकर्मी मित्रहरु,

आमनिर्वाचन २०८२ को देशव्यापी प्रचार अभियानमा खटिनु भएका सहकर्मी साथीहरु,

मुलुक ऐतिहासिक संक्रमणबाट गुज्रिरहँदा ०८२ फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनलाई सफल पार्न सूचना सम्प्रेषण मार्फत् यहाँहरुले पु¥याइरहनु भएको निर्णायक योगदानको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । साथै नेपाली लोकतान्त्रिक आन्दोलनको प्रमुख धरोहर नेपाली कांग्रेसप्रति यहाँहरुले आफ्नो व्यवहार र भावबाट प्रकट गर्नु भएको सदाशयताप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

यहाँहरुलाई मैले आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा निमन्त्रणा गर्नु पछाडि केही विशेष विषय छन् । यसबारे म बुँदागत रुपमै प्रष्ट पार्न चाहन्छु—

१) यहाँहरुबाट निकै अभिरुचिका साथ प्रतीक्षा भएको नेपाली कांग्रेसको प्रतिज्ञापत्र भोलि फागुन ३ गते केन्द्रीय कार्यालयबाटै जारी हुनेछ । यहाँहरु सबैलाई मैले यसै मञ्चबाट सहभागिताका लागि सादर आमन्त्रण गरें । पाल्नु होला ।

२) निर्वाचन आयोगले तोकेको तालिका अनुसार पर्सी फागुन ४ गतेदेखि नै नेपाली कांग्रेस देशैभर चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम लिएर जाँदैछ । यस ऐतिहासिक चुनावी अभियानमा नेपाली सञ्चार क्षेत्रले उत्साह र सकरात्मकताका साथ तदारुकता देखाउने हाम्रो विश्वास छ ।

३) आउने फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा हुँदैैछ । नेपाली जनताको समृद्धि, समावेशिता र राष्ट्रहितप्रतिको अखण्ड प्रतिवद्धता प्रखर ढंगले प्रवाहित हुने गरी आमसभा आयोजना भइरहँदा यहाँहरुलाई उत्साहपूर्ण सहभागिताका लागि सादर आमन्त्रण गर्दछु ।

४) नेपाली कांग्रेसले हरेक निर्वाचनलाई आमजनतामा आफ्नो एजेण्डा लिएर जाने, व्यापक विमर्श गर्ने, जनताको भावनाबाट परीक्षित हुने र समभावपूर्ण वातावरण बनाई लोकतान्त्रिक पर्यावरण उत्थान गर्ने अवसरका रुपमा उपयोग गर्दछ । यसै सिलसिलामा हामीले श्रृंखलावद्ध रुपमा मिडिया डबली आयोजना गरेका छौं । विभिन्न पेशाका अग्रणी, वुद्धिजीविहरुसँग संवाद र सहकार्यमा छौं । मूल गीत लगायतका साँस्कृतिक सामग्रीहरु तयारीको अवस्थामा छन् ।

५) नेपाली कांंग्रेस आमजनता, मतदातामाझ सभ्य, सुसँस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राख्छ । चरम प्रियतावादबाट वशिभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य हामीबाट किन्चित कल्पित र सम्भव छैन । आमसन्चार, विद्युतीय र डिजिटल सञ्चारका कुनै पनि प्लेटफर्ममा हाम्रो उपस्थिति तर्क, विवेक र सम्मानबाट निर्दिष्ट रहन्छ । यहाँहरुले यस पक्षलाई पहिचान गर्नु भएकै होला भन्ने हाम्रो अपेक्षा छ ।

६) निर्वाचन आयोगले जारी गरेको आचारसहिंताप्रति हाम्रो उच्च सम्मान छ । तर यसको कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकहरुबाट भइरहेका खुला उल्लघंनका घटनालाई हामीले सप्रमाण ध्यानाकर्षण गराएका छौं । र, यसबारे हामीले आन्तरिक रुपमै समेत अध्ययन विश्लेषण गरिरहेका छौं ।

७) निर्वाचन आचारसहिंतालाई निःशर्त र अविछिन्न रुपमा पालना गर्न नेपाली कांग्रेसको सकल परिवार प्रतिवद्ध छ। यसलाई लिएर हाम्रा सबै साथीहरुमा अभिमुखिकरण भइसकेको छ । हामी आफ्नो व्यवहार र कार्यशैलीबाट उदाहरण बन्न चाहन्छौं । निर्वाचन अघि–पछि सधैं यही समाजमा जीवन निर्वाह गर्नुपर्ने हामीमाझ कुनै पनि किसिमका अशोभनीय, अराजक र अवान्छित व्यवहार देखाउने छुट कसैलाई दिएका छैनौं।

८) विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था छ कि भन्ने प्रश्नमा हामी प्रष्ट पार्न चाहन्छौं कि काँगे्रस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ। सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई ह्रदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील हुनुहुन्छ ।

९) यतिबेला संसारभर नै लोकतान्त्रिक परम्परा र मूल्यमाथि प्रहार भइरहेको अवस्था सबैलाई ज्ञातै छ। लोकतन्त्रमाथिको संक्रमण कहिं देखिने अनि कहिं त्यो निवारण हुने श्रृंखला निरन्तर चलिनै रहन्छ । हाम्रा छिमेकी राष्ट्रहरुमा सकारात्मक घटना देखिएको खण्डमा त्यसलाई ‘नोटिस’मा राख्ने विषय हामी सचेत राजनीतिकर्मीका लागि महत्वपूर्ण छ। यद्यपि हाम्रो मूल प्राथमिकता आफ्नै देश र आफ्नै कर्म हुन्।

प्रिय साथीहरु,

नेपाल र नेपालीलाई सम्हाल्ने सदावहार कार्यभारका साथ नेपाली लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा बसेको नेपाली काँग्रेसले आमनिर्वाचनको संघारमा सार्वजनिक गर्ने प्रतिज्ञापत्र यस पटक नेपाली जनताले हरेक दिन ‘रिफरेन्स’ लिने जिवित दस्तावेजका रुपमा आउँदैछ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाकै अगुवाइमै निकै अध्ययन, अनुसन्धान र विमर्श भइ तयार भएको यस पटकको प्रतिज्ञापत्रले मुलुकको समृद्धिका प्राथमिकता, जनताका सुखदुःख र विचारशील लोकतन्त्रका आयामहरुको मर्म समेटी एउटा सुन्दर भविष्यको खाका दिनेछ। यो दस्तावेजका आधारमा हाम्रो अबको पाँच वर्षको कार्यव्यवहार मूल्याकंन गर्ने हरेक अधिकार नेपाली जनताले राख्छन्। पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यप्रवाहबाट लोकतन्त्रलाई गतिशील र जीवन्त बनाउनसक्ने खुवी नेपाली काँग्रेससँग छ र यो तथ्य अबका दिनहरुमा प्रमाणित हुँदै जानेछ।
यहाँहरुको हामीप्रतिको विश्वास, आस्था र सहयोगका लागि सदाझैं धन्य छौं।
जय नेपाल !
देवराज चालिसे
प्रवक्ता, नेपाली काँग्रेस