शीर्षकहरू

रास्वपा नेता अर्यालसँग मतदाताको गुनासो : 'नेपालभित्रै ज्यालामा ठगिन्छौं, छ महिनासम्म पनि तलब पाइँदैन'

मुलुक भित्रै रोजगारीको अवसर सिर्जना गर्ने अर्यालको प्रतिबद्धता

रास्वपा नेता अर्यालसँग मतदाताको गुनासो : 'नेपालभित्रै ज्यालामा ठगिन्छौं, छ महिनासम्म पनि तलब पाइँदैन'

काठमाडौं । काठमाडौ क्षेत्र ९ का मतदाताले रोजगारको अभावका कारण युवाहरू विदेश जानु परेको र मुलुकभित्र श्रमिकहरू ज्यालामा ठगिनु परेको गुनासो गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालसँगको छलफलमा काठमाडौ वडा नम्बर १२ र २१ का मतदाताले यस्तो गुनासो व्यक्त गरेका हुन् ।

छलफलमा, मतदाताहरूले विदेश जानुपर्ने बाध्यकारी अवस्थालाई रोक्न आग्रह गरेका छन् । उनीहरूले पुराना दलहरूले चुनाव जितेपछि आफूले आसेपासेलाई पोस्ने र जनताको समस्यालाई बिर्सने प्रवृत्तिका बारेमा पनि आपत्ति जनाएका छन् । यस्तै, शिक्षित युवाहरूले पनि ज्यालामा ठगिनु परेको गुनासो गरेका छन् र मतदाताको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन् ।

मतदाताहरूको गुनासो पछि, रास्वपाका उपसभापति अर्यालले नेपाल भित्रै रोजगारी सिर्जना गर्नका लागि अनेकौं सम्भावनाहरू रहेको उल्लेख गरे । उनले मुलुक भित्रै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्यालले श्रमको सम्मान गर्दै समान पारिश्रमिकको व्यवस्था गरिने बताए । “काम गर्ने उमेरका विद्यार्थीलाई पढ्दै काम गर्न सक्ने व्यवस्था मिलाउने छौं । यसरी कामका लागि पढाइ छोड्नुपर्ने बाध्यता हटाउनेछौं,“ उनले थपे ।

त्यसैगरी, उपसभापति अर्यालले मतदाताको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण तयारी अवस्थामा रहेको बताए । उनले भने, “तर पनि गलत काम गर्ने व्यक्तिहरूलाई जनताले समातेर सम्बन्धित निकायलाई जिम्मा दिनुपर्नेछ ।”

अर्यालले बिहान काठमाडौमा ८ का उम्मेदवार विराज भक्त श्रेष्ठ सहित धादिङका मतदाताहरूसँग पनि छलफल गरेका थिए ।