काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राथमिक सेयर (आईपीओ) निष्कासनपछि सूचीकृत हुने कम्पनीहरूको पहिलो कारोबार मूल्य (ओपनिङ रेन्ज) निर्धारण सम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सकारात्मक नेटवर्थ भएका कम्पनीहरूको हकमा प्रतिसेयर नेटवर्थलाई होइन, अंकित मूल्य (फेस भ्यालु) लाई आधार मानेर अधिकतम तीन गुणासम्मको ओपनिङ रेन्ज तोकिनेछ।
यसअघि कम्पनीले विवरणपत्रमा उल्लेख गरेको प्रतिसेयर नेटवर्थको अधिकतम तीन गुणासम्मलाई आधार मानेर पहिलो कारोबारको मूल्य दायरा निर्धारण गर्ने प्रचलन थियो। तर संशोधित व्यवस्थाले सो प्रावधान हटाएको हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सकारात्मक नेटवर्थ भएका कम्पनीहरूको हकमा फेस भ्यालुको तीन गुणासम्म र नकारात्मक नेटवर्थ भएका कम्पनीको हकमा भने सोही नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज कायम गरिनेछ।
नयाँ व्यवस्थाअनुसार शुक्रबार सूचीकृत रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको पहिलो कारोबारका लागि १ सयदेखि ३ सय रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरिएको छ।
बुक बिल्डिङ मूल्यबारे रिलायन्सको असन्तुष्टि
रिलायन्स स्पिनिङ मिल्सले भने नेप्सेको निर्णयप्रति असन्तुष्टि जनाएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गरेको थियो। तर पहिलो कारोबारका लागि १ सयदेखि ३ सय रुपैयाँसम्मको दायरा तोकिएकोमा कम्पनीले आपत्ति जनाउँदै बुक बिल्डिङ विधिबाट तय भएको मूल्यलाई सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार बुक बिल्डिङ बजारआधारित मूल्य निर्धारण प्रणाली भएकाले सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणमा पनि सोही आधारलाई ध्यान दिनुपर्ने हो। यद्यपि नेप्सेले निर्धारण गरेको दायराअनुसार नै सूचीकरण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
लगानीकर्ताको घाटा
बुक बिल्डिङ पद्धतिअनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो। प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले लगानीकर्ताको न्यूनतम लगानी ४१ हजार ४० रुपैयाँ पुगेको थियो। तर अधिकतम ३ सय रुपैयाँमा कारोबार खुल्दा पहिलो दिनमै प्रति लगानीकर्ता करिब २६ हजार रुपैयाँ घाटा पर्ने देखिएको छ।
नेप्सेको दैनिक मूल्य उतारचढाव सीमा (१० प्रतिशत) अनुसार लगातार १० दिन सकारात्मक सर्किट लागे पनि सेयर मूल्य करिब ७८२ रुपैयाँसम्म मात्र पुग्ने अनुमान गरिएको छ, जुन आईपीओ निष्कासन मूल्यभन्दा अझै कम हो।
व्यवस्था किन परिवर्तन ?
यसअघि प्रचलित व्यवस्थाअनुसार नेटवर्थको तीन गुणासम्म मूल्य निर्धारण गर्दा पनि रिलायन्सको बुक बिल्डिङ मूल्यभन्दा कम पर्ने अवस्था देखिएको थियो। सोही कारण कम्पनीको सूचीकरण प्रक्रिया लामो समय रोकिएको थियो। सम्भावित विवाद टार्न र लगानीकर्तालाई हुने प्रभावलाई मध्यनजर गर्दै नेप्सेले ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था नै संशोधन गरेको स्रोत बताउँछ।
नयाँ प्रावधानले बुक बिल्डिङमार्फत उच्च मूल्यमा निष्कासन भएका कम्पनीहरूको सूचीकरणपछि हुने प्रारम्भिक मूल्य निर्धारणलाई नयाँ बहसमा ल्याएको छ।

आर्थिकन्यूज