जनकपुर। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले मधेश प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ। जनकपुरस्थित मिथिला यात्री होटलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी ‘सीईओ क्लब’ सदस्य बन्न सफल ७७ जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा मधेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागिता थियो। कार्यक्रममा ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेता अभिकर्तालाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरिएको थियो। साथै प्रदेशस्तरमा आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई विशेष पुरस्कार दिइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता समूहलाई कम्पनीको अग्रगमनको मुख्य आधारका रूपमा लिँदै अभिकर्तामैत्री योजना अघि बढाइएको बताए। ‘सीईओ क्लब’ अवधारणाअन्तर्गत देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता छनोट भइसकेको जानकारी उनले दिए।
समारोहमा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि सम्बन्धी तालिम दिएका थिए। उत्कृष्ट अभिकर्तामध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो अनुभव साझा गरेका थिए।
सहभागी अभिकर्ताहरूले कम्पनी नेतृत्वबाट सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको प्रतिक्रिया दिएका थिए।
आर्थिकन्यूज