- प्राधिकरणमा सूचीकृत ४४ विदेशी पुनर्बीमा दलालमध्ये ७ वटाले मात्रै नेपालमा सम्पर्क कार्यालय स्थापना गरेका छन्, बाँकी ३७ कम्पनीले समयसीमा सकिँदासमेत कार्यालय खोलेका छैनन् ।
- पुनर्बीमा निर्देशिका २०८० अनुसार नेपाली बीमा तथा पुनर्बीमा कम्पनीसँग कारोबार गर्न विदेशी दलालले नेपालमै दर्ता भई सम्पर्क कार्यालय स्थापना अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।
- आवश्यक कागजात, रेटिङ, नवीकरण र सेक्युरिटी डिपोजिटसम्बन्धी कडा प्रावधान राखिए पनि समयभित्र कार्यालय नखोल्ने कम्पनीबारे प्राधिकरणले अझै निर्णय गरेको छैन ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा सूचीकृत भएका ४४ वटा विदेशी पुनर्बीमा दलाल कम्पनीमध्ये ७ वटाले मात्रै नेपालमा सम्पर्क कार्यालय खोलेका छन् । बीमकको पुनर्बीमा निर्देशिका २०८० अनुसार भारत, मलेसिया, युनाइटेड अरब इमिरेट्स (युएई) र सिंगापुरका पुनर्बीमा ब्रोकर कम्पनीहरूले नेपालमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । विदेशी पुनर्बीमा दलाल कम्पनीलाई नेपालमा सम्पर्क कार्यालय स्थापना गर्नका लागि प्राधिकरणले दोस्रो पटक दिएको समयसीमा पुस मसान्तमा सकिएको छ ।
नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछानेका अनुसार भारतको जेबी बोडा पुनर्बीमा ब्रोकर, केएम डस्दुर र फ्रस्ट ब्रोकरले नेपालमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।मलेसियाको सिनर्जी रि इन्स्योरेन्स ब्रोकर, युएईको मनोज रि ब्रोकर कम्पनी र प्रोटेक्सन रि ब्रोकर कम्पनीले पनि नेपालमा सम्पर्क कार्यालय खोलेका छन् । सिंगापुरको युआईबी पुनर्बीमा ब्रोकरले समेत नेपालमा सम्पर्क कार्यालय स्थापना गरी काम सुरु गरेको छ।
नेपालमा सम्पर्क कार्यालय खोलेकामध्ये ६ कम्पनीहरूले काम सुरु गरिसकेका छन्। युएईको प्रोटेक्सन रि इन्स्योरेन्स कम्पनीले भने कार्यालय स्थापना गरे पनि औपचारिक रूपमा कारोबार सुरु नगरेको प्राधिकरणका निर्देशक लामिछानेले जानकारी दिए।
बीमकको पुनर्बीमा निर्देशिका २०८० अनुसार नेपाली बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीसँग पुनर्बीमा व्यवसाय गर्न चाहने विदेशी दलाल कम्पनी प्राधिकरणमा दर्ता भई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम प्राधिकरणले १० चैत २०८१ मा पहिलो पटक सूचना जारी गर्दै नेपालमा सूचीकृत विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरूलाई शाखा कार्यालय स्थापना गर्न पत्राचार गरेको थियो । पहिलो पटक प्राधिकरणले तीन महिनाको समयावधि दिएको थियो।
पहिलो पटक तोकिएको समयभित्र कुनै पनि कम्पनीले नेपालमा सम्पर्क कार्यालय स्थापना नगरेपछि २०८१ असारको अन्त्यमा थप १० दिनको अवधि दिँदै दलाल कम्पनीहरूलाई पुनः पत्राचार गरिएको थियो । सो अवधिमा केही कम्पनीहरूले प्राधिकरणले पठाएको इमेलमा प्रतिक्रिया जनाए पनि कार्यालय स्थापना गरेका थिएनन्।
पहिलो सूचना जारी गर्दा कुनै पनि कम्पनीले सम्पर्क कार्यालय स्थापना नगरेपछि प्राधिकरणले दोस्रो पटक सूचना जारी गरी ६ महिनाको समयावधि प्रदान गरेको थियो। उक्त दोस्रो समयसीमा पनि समाप्त भइसकेको छ।
निर्देशिकामा भएको व्यवस्था अनुसार तोकिएको अवधिमा ३७ वटा विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरूले नेपालमा सम्पर्क कार्यालय स्थापना गरेका छैनन् । कार्यालय स्थापना नगरेका कम्पनीहरूको हकमा के गर्ने भन्ने विषयमा प्राधिकरणले अहिलेसम्म कुनै ठोस निर्णय नगरेको निर्देशक शाम्बराज लामिछानेले बताए । निर्देशिका अनुसार सम्पर्क कार्यालय स्थापना नगरेका कम्पनीहरूले नेपाली बीमा कम्पनीहरूसँग कारोबार गर्न पाउने छैनन्।
निर्देशिका अनुसार विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल प्राधिकरणमा सूचीकृत हुन अनिवार्य छ । सूचीकृत हुन विदेशी पुनर्बीमकले सम्बन्धित देशको नियामक निकायबाट प्राप्त पुनर्बीमकको इजाजतपत्र, उक्त इजाजतपत्र बहाल रहेको प्रमाण, इजाजतपत्र नम्बर र स्थापना मिति प्राधिकरणमा पेश गर्नुपर्नेछ । यसका साथै इजाजतपत्र प्रदान गर्ने निकायको नाम, अद्यावधिक वित्तीय विवरण, बीमकसँग कारोबार हुने पोर्टफोलियो, कम्पनीको नाम, ठेगाना, स्थापना वर्ष, सम्पर्क नम्बर र इमेल, सम्पर्क व्यक्तिको नाम, ठेगाना, इमेल तथा सम्पर्क नम्बर, सूचीकरणका लागि बीमकको आफ्नै कर्मचारी, प्रतिनिधि वा स्वदेशी बीमकलाई प्रदान गरिएको अख्तियारनामा, रेटिङ एजेन्सीको नाम, रेटिङ प्राप्त गरेको मिति तथा रेटिङको प्रमाणपत्र समेत पेश गर्नुपर्ने व्यवस्था छ।
पुनर्बीमा दलालको हकमा पेशागत बीमा दायित्वसम्बन्धी अद्यावधिक प्रतिलिपि पनि प्राधिकरणमा पेश गर्नुपर्नेछ । निवेदन प्राप्त भएपछि त्यस्ता विदेशी पुनर्बीमक वा पुनर्बीमा दलाललाई प्राधिकरणले सूचीकरण नम्बर प्रदान गर्नेछ । तर, एएम वेस्ट रेटिङ एजेन्सीबाट ‘ए डबल प्लस’ रेटिङ प्राप्त कम्पनीले छुट्टै अनुमति लिनुपर्ने छैन । एस एण्ड पि, मोडिज र फिच रेटिङ एजेन्सीबाट ‘ट्रिपल ए’ रेटिङ प्राप्त विदेशी बीमा कम्पनीहरूले पनि प्राधिकरणमा छुट्टै दर्ता हुनुपर्ने छैन । यद्यपि, त्यस्तो रेटिङ भएको तथ्य सम्बन्धित पुनर्बीमकसँग कारोबार गर्ने बीमकले प्रमाणित गर्नुपर्नेछ।
विदेशी पुनर्बीमकले प्रत्येक वर्ष आफ्नो सूचीकरण नम्बर प्राधिकरणबाट नवीकरण गराउनुपर्नेछ । प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले त्यस्तो सूचीकरण नम्बर प्राप्त गरेको ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्नेछ । स्वदेशी पुनर्बीमक तथा स्वदेशी पुनर्बीमा दलालले सूचीकृत विदेशी पुनर्बीमक र पुनर्बीमा दलालसँग मात्र कारोबार गर्नुपर्नेछ । सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलालहरूको सूची प्राधिकरणले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नेछ।
बीमकले प्रत्येक आर्थिक वर्षका लागि पुनर्बीमा नीति तयार गरी आर्थिक वर्ष समाप्त हुनु अघि नै सञ्चालक समितिबाट पारित गराई लागू गर्नुपर्नेछ । नेपालभित्र प्रधान कार्यालय नरहेको विदेशी बीमकको हकमा नेपालस्थित कार्यालयले पुनर्बीमा नीति तयार गरी व्यवस्थापन समूहबाट पारित गराई लागू गर्नुपर्ने प्राधिकरणको व्यवस्था छ।
पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ मा पनि विदेशी पुनर्बीमा दलालसम्बन्धी व्यवस्था गरिएको छ । नेपाली बीमक, पुनर्बीमक तथा अन्तर्राष्ट्रिय बीमक/पुनर्बीमकसँग पुनर्बीमा व्यवसायसम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले समितिसमक्ष सम्पर्क वा शाखा कार्यालय खोल्न इजाजतका लागि निवेदन दिन सक्नेछन्।
निवेदन दिने दलालहरूको अन्तर्राष्ट्रिय व्यावसायिक पहुँच, प्रतिष्ठा तथा प्राधिकरणले तोकेको अन्य आवश्यक मापदण्डका आधारमा नेपालमा सम्पर्क शाखा खोल्न इजाजत दिन सकिनेछ। प्राधिकरणबाट पुनर्बीमा दलाललाई इजाजत दिने आशयपत्र प्राप्त भएपछि ब्रोकिङ कार्य सुरु गर्नुअघि नेपालको ‘क’ वर्गको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिटबापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्नेछ।
नेपाली पुनर्बीमा दलालसँग संयुक्त रूपमा नेपालमा पुनर्बीमा दलाल संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले तोकिएको पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न सक्नेछन्। यसरी स्थापित पुनर्बीमा दलालको कार्यालयमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च अधिकृतका अतिरिक्त आवश्यकताअनुसार एक जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिनेछ। अन्य कर्मचारीहरूको हकमा भने नेपाली नागरिक नै नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ।
मुना कुँवर