शीर्षकहरू

लगातार तेस्रो हारसँगै नेपाल सुपर-८ बाट बाहिरियो, वेस्ट इन्डिज ९ विकेटले विजयी

लगातार तेस्रो हारसँगै नेपाल सुपर-८ बाट बाहिरियो, वेस्ट इन्डिज ९ विकेटले विजयी

काठमाडौं।  भारत र श्रीलंकामा जारी  आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर–८ दौडबाट बाहिरिएको छ।

आइतबार समूह चरणको तेस्रो खेलमा  वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपाल यस विश्वकपमा सुपर–८ बाट बाहिरिने दोस्रो टोली बनेको छ। यसअघि समूह बीबाट ओमान बाहिरिसकेको थियो।

नेपाललाई हराएसँगै वेस्ट इन्डिज भने एक खेल अगावै सुपर–८ मा पुग्ने पहिलो टोली बनेको छ। समूह सीमा वेस्ट इन्डिज तीन खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ।

वेस्ट इन्डिजको सहज जित

नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर ब्राण्डोन किंग २२ रनमा आउट भए पनि कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए।

दीपेन्द्र–सोमपालको साझेदारी

 टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। सातौँ विकेटका लागि दिपेन्द्र र सोमपालले ५४ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल सम्हालिएको थियो।

दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको ११औँ अर्धशतक हो र जारी विश्वकपमा नेपालको पहिलो अर्धशतक पनि हो। सोमपाल २६ रनमा अविजित रहे।

शीर्षक्रमको कमजोर प्रदर्शन

नेपालको सुरुआत कमजोर रह्यो। ४.१ ओभरमा ३ विकेट गुमाएर १७ रन बनाएको नेपाल पावर प्लेमा ३ विकेटको क्षतिमा २२ रनमै सीमित भयो।

लोकेश बम (१३), गुल्सन झा (११), आशिफ शेख (११) बाहेक अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। कप्तान रोहित पौडेल ५ रनमा आउट भए।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए। अकिल होसेन, म्याथु फोर्ड, समर जोसेफ र रोष्टन चेसले समान एक विकेट लिए।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

null