शीर्षकहरू

घरजग्गाको कारोबारमा उछाल कायमै, यी हुन् रियलस्टेट क्षेत्र चलायमान हुनुका प्रमुख कारणहरु

घरजग्गाको कारोबारमा उछाल कायमै, यी हुन् रियलस्टेट क्षेत्र चलायमान हुनुका प्रमुख कारणहरु

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा पनि घरजग्गाको कारोबार वृद्धि भएको छ। चालु आर्थिक वर्षका केही महिनाहरूमा गत वर्षको तुलनामा घरजग्गाको कारोबार तथा कित्ताकाट लगातार घटिरहेको थियो । तर, मंसिर महिनादेखि कारोबारमा एक्कासि देखिएको सुधार माघमा पनि कायम रहेको छ । 

माघ महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ। गएको माघ महिनामा १ लाख ९३ हजार ९२० पटक घरजग्गाको कारोबार भएको छ । २०८१ को माघ महिनामा १ लाख ३२ हजार ३१ पटक मात्रै घरजग्गाको कारोबार भएको थियो । अर्थात् गत वर्षको माघको तुलनामा चालु आवको साेही महिनामा घरजग्गाको कारोबार १६.५७ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, २०८२ को माघमा ५४ हजार १३२ वटा जग्गाको टुक्रालाई कित्ताकाट गरेर १ लाख २० हजार ४२६ कित्तामा विभाजन गरिएको छ । जुन २०८१ को सोही महिनामा ५१ हजार २७ कित्तालाई १ लाख १४ हजार २०६ कित्तामा विभाजन गरिएको थियो । त्यसैगरी, घरजग्गाको कारोबारबाट हुने राजस्वमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा यस वर्षको माघ महिनामा घरजग्गाबाट संकलन हुने राजस्व २९.३७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

२०८१ को माघ महिनामा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएकोमा २०८२ को सोही महिनामा ५ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन भएको छ । २०८२ काे मंसिर महिनामा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्व २५ प्रतिशतले वृद्धि भएको थियो भने पाैषमा २१.६५ प्रतिशतले वृद्धि भएको । यसरी घरजग्गाको कारोबार, कित्ताकाट र राजस्व बढ्नुको कारणहरू धेरै हुनसक्छन् । त्यसमध्ये पनि सरकारले कित्ताकाट खुलाएका कारण यसरी उछाल आएको जानकारहरु बताउँछन् । 

सरकारले २०८२ को असार मसान्तदेखि कित्ताकाट रोक्का भएको थियो । जसले यस क्षेत्रको कारोबारसँगै सरकारको राजस्वमा नै धक्का लाग्यो । तर, रोकिएको कित्ताकाट २०८२ कार्तिक महिनाको अन्तिम सातामा सरकारले खुलाइदियो । अर्थात् आगामी असार मसान्तसम्मका लागि कित्ताकाट गर्न पाइने व्यवस्था सरकारले गरिदिएको थियाे । यसले गर्दा अझै ६ महिनासम्म कित्ताकाट गर्न पाइन्छ । यो अवधिमा घरजग्गाको कारोबार उच्च हुने आशा व्यवसायीहरूमा रहेको छ ।

रियलस्टेट व्यवसायीहरूका अनुसार घरजग्गाकाे काराेबार बढ्नुका धेरै कारणहरू हुने गर्दछन् । त्यसमध्ये सरकारले कित्ताकाट खुलाएकाका कारणले मंंसिरदेखि यस क्षेत्र चलायमान भएको नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राई बताउँछन् ।

उपाध्यक्ष राईका अनुसार बैंकको ब्याजदरमा आएको गिरावटले पनि यस क्षेत्रको कारोबार बढेको हो । पछिल्लो एक वर्षमा रियलस्टेट क्षेत्रको ब्याजदर ९.१४ प्रतिशतबाट ७.३८ प्रतिशतमा झरेको छ । अर्थात् २०८१ पुसमा ९.१४ प्रतिशत रहेको यस क्षेत्रको बैंकको ब्याजदर २०८२ पुसमा आइपुग्दा ७.३८ प्रतिशतमा झरेको छ । 

यसैगरी, घरजग्गाको कारोबार लामो समय शिथिल हुँदा जग्गाको मूल्य स्थिर हुनु, ब्यबहार मिलाउन घरजग्गा बेच्नु, विदेशबाट चाडपर्व मनाउन आएका नेपाली घर जग्गा किनेर आफ्नो कर्मभूमि फर्किनु, अमेरिकाको आप्रवास नीति कठोर बन्नु जस्ता कारणहरूले घरजग्गाको कारोबार वृद्धि भएको उपाध्यक्ष राईको बताए । तर, हालको यस वृद्धिलाई उनले सामान्य सामान्य वृद्धि हो भनेर व्याख्या गरेका छन् । 

उनले भने, 'अहिलेको वृद्धि सामान्य नै हो । २०७७ सालको उचाइमा पुगेपछि मात्रै घरजग्गाको कारोबार व्यापक रुपमा बढ्यो भन्न मिल्छ ।’

२०७७ सालमा घरजग्गाको कारोबारले लय लिएको थियो । त्यस समयमा कारोबार उच्च गतिमा वृद्धि भएको थियो । २०७७ को चैत महिनामा मात्रै घरजग्गाको कारोबारबाट ८ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।