शीर्षकहरू

अछाम-२ मा उज्यालो नेपालका राजेश रावलद्वारा रास्वपाका भुपदेव शाहलाई पूर्ण समर्थन

अछाम-२ मा उज्यालो नेपालका राजेश रावलद्वारा रास्वपाका भुपदेव शाहलाई पूर्ण समर्थन

अछाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, पारदर्शिता र वास्तविक परिवर्तनको राजनीतिलाई सुदृढ बनाउने उद्देश्यसहित महत्वपूर्ण राजनीतिक सहमति भएको छ।

उक्त सहमतिअनुसार उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुप देव शाहलाई पूर्ण समर्थन गर्ने निर्णय गरेका छ्न । 

सहमति अनुसार आफुले निर्वाचित भए पछि काम गर्ने भुप देव शाहले बताए । "हामीले आम अछाम -२ का मतदानहरुकै चाहना अनुसार नै सहमति गरेका हौं । म निर्वाचित भए पछि हामी २ जना कै एजेन्डाहरुलाई अगाडी बढाउने छु "शाहले सहमति पच्यात बताएका छ्न । 

मंगलसेनमा आज भएको सहमति अनुसार दुवै पक्षले परिवर्तनमुखी राजनीति, जनउत्तरदायी नेतृत्व र सुशासनलाई प्राथमिकता दिँदै आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहमति पत्रमा उल्लेख भएअनुसार राजेश रावलले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीतिक अभ्यासलाई बलियो बनाउन आफ्नो उम्मेदवारी फिर्ता लिई भुपदेव शाहलाई समर्थन गर्ने निर्णय भएको हो।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुप देव शाहले राजेश रावलले उठाएका विभिन्न महत्वपूर्ण एजेन्डाहरूलाई आफ्नो सार्वजनिक प्रतिबद्धताका रूपमा स्वीकार गर्ने र कार्यान्वयनका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छ्न। 

 ती एजेन्डाहरूमा अछाम जिल्लाको समग्र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। विशेषगरी सडक सञ्जाल विस्तार, विद्युत आपूर्ति सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षा र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिक कार्यसूचीमा राखिएको छ।

त्यसैगरी युवाहरूका लागि रोजगारी सिर्जना गर्ने, उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्ने तथा स्थानीय स्तरमै अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने तथा जनताको विश्वास कायम गर्ने विषयलाई समेत सहमतिमा समेटिएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन र किसानको आयस्तर वृद्धि गर्ने योजना पनि सहमतिका प्रमुख प्राथमिकतामा रहेका छन्। साथै अछामका विकट तथा दुर्गम क्षेत्रका नागरिकसम्म राज्यका आधारभूत सेवा प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक पहल गर्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

सहमति अनुसार दुवै पक्षले आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुपदेव शाहलाई विजयी गराउन संयुक्त रूपमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। संयुक्त अभियानमार्फत जनतामा आशा, विश्वास र उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गर्ने र वास्तविक परिवर्तनको आधार तयार पार्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ।

त्यसैगरी निर्वाचन सम्पन्न भएपछि पनि अछाम जिल्लाको समृद्धि, पारदर्शी शासन प्रणाली स्थापना, दीगो विकास र जनमुखी नीति कार्यान्वयनका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्। यस सहमतिले अछाम क्षेत्र नं. २ मा परिवर्तनको पक्षमा राजनीतिक एकता र सहकार्यको नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।

सहमति पश्चात् जारी गरिएको संयुक्त आह्वानमा अछाम निर्वाचन क्षेत्र नं. २ का सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको पक्षमा एकजुट भई वास्तविक परिवर्तनको अभियानलाई सफल बनाउन आग्रह गरिएको छ।