शीर्षकहरू

राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन, के गर्न पाइन्छ, के पाइदैन ?

राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन, के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ । दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन निकायले राजनीतिक दल र उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने, धम्की दिने, आर्थिक प्रलोभन देखाउने, सामाजिक बहिष्कार गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गर्ने जस्ता कार्य कडाइका साथ निषेध गरिएको छ । मतदातालाई उपहार, नगद, जिन्सी, भोजभतेर वा अन्य प्रलोभनमार्फत प्रभाव पार्न पनि पाइने छैन ।

राजनीतिक दल तथा उम्मेदवारहरूले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउनेछन् । मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।

प्रचारप्रसारका क्रममा राष्ट्रिय एकता, सार्वभौमिकता, सामाजिक सद्भाव तथा बहुदलीय लोकतान्त्रिक व्यवस्थामा आँच पुग्ने गतिविधि गर्न रोक लगाइएको छ । कुनै धर्म, जातजाति, क्षेत्र वा समुदायबीच द्वेष फैलाउने, चरित्र हत्या गर्ने वा हिंसात्मक गतिविधि उक्साउने कार्य पनि निषेध गरिएको छ ।

निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक वा वित्तीय संस्थामार्फत मात्र खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी सहयोग छुट्टै बैंक खातामार्फत लिनुपर्ने र आयोगले मागेमा सक्कल बिल भरपाई पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आम्दानी–खर्चको विवरण बुझाउनुपर्नेछ । प्रचार सामग्रीसम्बन्धी व्यवस्थाअनुसार तोकिएको आकारको एकरङ्गे पर्चा बाहेक पोस्टर, भित्तेलेखन, ब्यानर, डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड प्रयोग गर्न पाइने छैन ।

निजी घरजग्गा वा सार्वजनिक स्थानमा झण्डा वा चुनाव चिन्ह राख्न घरधनी वा सम्बन्धित निकायको अनुमति आवश्यक हुनेछ । मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री निषेध अवधि सुरु हुनुअघि हटाउनुपर्नेछ । मतदान र मतगणनाको प्रक्रियामा हस्तक्षेप गर्ने, नक्कली मतपत्र तयार गर्ने, मतपत्र वा मतपेटिका बिगार्ने, मतदाता परिचयपत्र कब्जा गर्ने वा मतदातालाई मतदान केन्द्र प्रवेश गर्न नदिने कार्यलाई कडा रूपमा निषेध गरिएको छ । मतदान केन्द्र र मतगणना स्थलमा अनुमति प्राप्त व्यक्तिबाहेक प्रवेश गर्न नपाइने व्यवस्था छ ।

त्यसैगरी, जुलुस, आमसभा वा भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, २४ घण्टा अगावै प्रहरीलाई जानकारी दिनुपर्ने तथा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र कार्यक्रम गर्न पाइनेछ । बालबालिकाको प्रयोग गर्न नपाइने र कुनै पनि प्रकारको साम्प्रदायिक विद्वेष फैलाउने प्रचार गर्न रोक लगाइएको छ ।

आयोगले जारी गरेको निर्देशन उल्लङ्घन गरेमा प्रचलित संघीय कानूनबमोजिम कारबाही हुने जनाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आयोगले आग्रह गरेको छ ।