काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
कम्पनीले दोस्रो चरणअन्तर्गत कर्मचारीका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता सुरक्षित राखी बाँकी सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ करोड ७ लाख रुपैयाँ मूल्यका २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गरिएको हो।
रिज लाइन इनर्जीले गोरखा र लमजुङ जिल्लामा ९.०५ मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले २०८० माघदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गर्दै आएको छ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम संकेत गर्छ।
आर्थिकन्यूज