काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएछन् ।
ब्रायन टाइलर कोहेनको ‘नो लाइ’ पोडकास्टमा शनिबार कुरा गर्दै ओबामाले राष्ट्रपति ट्रम्पको ’टुथ सोसल’ अकाउन्टमा हालै पोष्ट गरिएको एक विवादास्पद भिडियोप्रति कडा आपत्ति जनाएका हुन् । उक्त भिडियोमा पूर्व राष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिसेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको थियो ।
दुवै पक्षका राजनीतिक दलहरूबाट त्यसको व्यापक आलोचना भएतापनि ट्रम्पले उक्त भिडियोका लागि माफी माग्न अस्वीकार गरेका छन् । ह्वाइट हाउसले भने उक्त सामग्री कर्मचारीको ‘त्रुटिपूर्ण’ कार्यका कारण पोष्ट भएको दाबी गर्दै केही समयपछि हटाएको थियो । “मलाई लाग्छ कि बहुसंख्यक अमेरिकी जनताले यस्तो व्यवहारलाई गहिरो रूपमा विचलित पार्ने खालको ठानेका छन् भन्ने कुरा चिन्नु महत्त्वपूर्ण छ,‘ओबामाले भने ।
अन्तर्वार्ताकार कोहेनले राजनीतिक संवादमा आएको ह्रास र मिनियापोलिसमा अध्यागमन प्रवर्तनका क्रममा मारिएका दुई अमेरिकी नागरिकलाई प्रशासनले ‘घरेलु आतंकवादी’ भनी गरेको टिप्पणीप्रति चिन्ता व्यक्त गरेका थिए । यसको जवाफमा ओबामाले यस्ता भाषाहरू केवल ‘ध्यान भड्काउन’ प्रयोग गरिएको र अधिकांश नागरिकहरू अझै पनि शालीनता, शिष्टता र दयामा विश्वास गर्ने बताए ।
“अहिले सामाजिक सञ्जाल र टेलिभिजनमा एक प्रकारको तमासा चलिरहेको छ,“ उनले भने । “पहिले पदको मर्यादा र सम्मान हुनुपर्छ भन्ने ठान्ने मानिसहरूमा अहिले कुनै लज्जाबोध देखिएको छैन । त्यो मर्यादा अहिले हराएको छ ।“
ओबामाले रिपब्लिकन पार्टीले कांग्रेसमा नियन्त्रण जमाएदेखि ‘वान बिग, ब्युटिफुल बिल’ बाहेक अरू केही पनि संस्थागत गर्न नसकेको टिप्पणी गरे । “उनीहरूले अध्यागमन एजेन्डामा ठूलो रकम खन्याएका छन् । धनी मानिसहरूको कर कटौती गरेका छन् र अहिले स्थापित नियम, मान्यता र कानुनहरूलाई उल्ट्याउन खोज्दैछन् । यो सजिलो काम हो,“ उनले भने ।
आफ्नो कार्यकालको स्मरण गर्दै ओबामाले थपे, “जब म राष्ट्रपति थिएँ, मैले पनि मलाई भोट नदिने राज्यहरूको कोष रोक्ने वा त्यहाँका गभर्नरहरूलाई धम्क्याउन सेना पठाउने एकपक्षीय आदेश दिन सक्थें । तर, त्यो हाम्रो लोकतन्त्रले काम गर्ने तरिका विपरीत हुन्छ । हाम्रो काम अलि कठिन छ भन्दैमा हामी निरुत्साहित हुनु हुँदैन ।“ एएनआई
आर्थिकन्यूज