शीर्षकहरू

श्रम संस्कृति पार्टीद्वारा चुनावी घोषणापत्र तयार, ‘हर्कवाद’ अवधारणा सार्वजनिक

श्रम संस्कृति पार्टीद्वारा चुनावी घोषणापत्र तयार, ‘हर्कवाद’ अवधारणा सार्वजनिक

 

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ। घोषणापत्रमार्फत पार्टीले अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ।

पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासमार्फत आत्मनिर्भर, समृद्ध र स्वाधीन राष्ट्र निर्माण गर्ने लक्ष्यसहित नयाँ राजनीतिक दर्शन ‘हर्कवाद’ प्रस्तुत गरेको जनाएको छ। श्रमलाई सर्वोच्च मूल्यका रूपमा स्थापित गर्दै सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा श्रमको अनिवार्यता लागू गरिने उल्लेख गरिएको छ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने र एक व्यक्ति बढीमा दुई कार्यकालसम्म मात्र निर्वाचित हुन सक्ने व्यवस्था समेटिएको छ। संघीय संसद दुई सदनात्मक र प्रदेश सभा एक सदनात्मक रहने प्रस्ताव गरिएको छ।

अर्थतन्त्रतर्फ कृषि, उद्योग, जडीबुटी, खानी, ऊर्जा र प्रविधिमा आधारित आत्मनिर्भर मोडेल अघि सारिएको छ। कृषिलाई प्राथमिकतामा राख्दै बजेट वृद्धि, उन्नत बीउ–मल उत्पादन, सिंचाइ विस्तार, सामुदायिक खेती र कृषि उद्योग स्थापना गर्ने योजना उल्लेख छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई दीर्घकालीन रणनीति बनाइने जनाइएको छ।

शिक्षा क्षेत्रमा व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिँदै हप्तामा तीन दिन सैद्धान्तिक र चार दिन व्यवहारिक श्रम तथा सीपमूलक तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। कक्षा १२ पछि ६ महिने अनिवार्य सैनिक तालिमको योजना पनि घोषणापत्रमा समावेश छ।

पार्टीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य तथा शिक्षा बीमा विस्तार गर्ने र श्रमिक, किसान तथा निम्न आय वर्गलाई विशेष सुविधा दिने प्रतिबद्धता जनाएको छ। साथै डिजिटल आर्थिक प्रणाली लागू गरी अवैध सम्पत्ति नियन्त्रण, स्रोत नखुलेको सम्पत्ति जफत र आर्थिक कारोबारको डिजिटल अभिलेख राख्ने योजना अघि सारिएको छ।