काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गरेको छ।
राष्ट्र बैंकले २०२६ फेब्रुअरी २४ देखि २०२७ फेब्रुअरी २४ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा रकम लगानी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ७ अर्ब ४८ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४० करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४६ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ।
ब्याजदर प्रस्ताव गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको फारम भरी २०८२ फागुन ८ गते साँझ ७ बजेसम्म इमेलमार्फत प्रस्ताव पठाउनुपर्नेछ।
प्रस्ताव पेश गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा नबढेको, खुद नाफामा रहेको तथा समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने शर्त राखिएको छ। साथै सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने प्रावधान पनि छ।
राष्ट्र बैंकका अनुसार एउटै संस्थाले फरक–फरक ब्याजदर वा रकम उल्लेख गरी एकभन्दा बढी प्रस्ताव पेश गरेमा सबै प्रस्ताव रद्द गरिनेछ। तोकिएको समयभित्र पासवर्ड सुरक्षित फाइल वा पासवर्ड नपठाइएमा प्रस्ताव स्वतः अमान्य हुनेछ।
लगानीका लागि मापदण्ड पूरा गरेका संस्थामध्ये सबैभन्दा उच्च ब्याजदर प्रस्ताव गर्ने संस्थामा रकम लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याज त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्नेछ। कोषको रकम लगानीसम्बन्धी अन्तिम निर्णय राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिको हुनेछ।
आर्थिकन्यूज