शीर्षकहरू

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

काठमाडौँ ।  प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सकिने जनाएको छ । 

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न हुने बताए । 'प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ ।

प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं आज ४० दिनमै सकिँदैछ,' उनले भने, 'आज छपाइ सम्पन्न पछि भोलिसम्ममा  सबै मतपत्र प्याकिङ सके बाँकी जिल्लामा ढुवानी हुनेछ ।'

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमुना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।