काठमाडौँ। महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ मंसिर १ गते काठमाडौँमा आयोजना गरिएको हो।
विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता यस वर्ष तेस्रो संस्करणका रूपमा सम्पन्न भएको हो। २०८२ भदौ ११ गतेदेखि असोज ३१ गतेसम्म देशभरबाट फोटो संकलन गरिएको थियो।
स्थानीय साना तथा मझौला व्यवसाय झल्किने फोटो पठाउनुपर्ने व्यवस्था अनुसार विभिन्न फोटोग्राफरबाट प्राप्त सिर्जनात्मक तस्बिरहरू प्रतियोगितामा समावेश गरिएका थिए।
प्रतियोगितामा समावेश सबै फोटोहरूले स्थानीय तहमा सञ्चालित व्यवसायमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको बैंकले जनाएको छ। तीन सदस्यीय निर्णायक समितिले मूल्यांकन गरी उत्कृष्ट १५ तस्बिर छनोट गरेको थियो।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय तथा पब्लिक च्वाइस अवार्ड विजेतालाई पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य द्वितीय र देवानन्द पोखरेल तृतीय भएका छन्। उनीहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
पब्लिक च्वाइस अवार्डतर्फ सबैभन्दा बढी मत प्राप्त गरी शर्मन राज भण्डारी विजेता बनेका छन्। उनले १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। साथै उत्कृष्ट १५ फोटोग्राफरलाई पनि प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ। यस संस्करणमा अघिल्लो वर्षको तुलनामा पुरस्कार राशि वृद्धि गरिएको थियो।
बैंकका अनुसार यस्ता कार्यक्रमले स्थानीय व्यवसाय, उद्यमशीलता तथा स्थानीय कलाको प्रवर्द्धन र प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास लिइएको छ। बैंकले डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ सेवाको विस्तारका लागि सञ्चालन गरेको ‘महालक्ष्मी माघ महोत्सव’ कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
आर्थिकन्यूज