शीर्षकहरू

पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सक्रिय भूमिका निर्णायक : जोशी

पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सक्रिय भूमिका निर्णायक : जोशी

काठमाडौं। नेपालको पर्यटन क्षेत्रलाई सुदृढ र दिगो बनाउने क्रममा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले बताएका छन्।

काठमाडौं जिल्ला होटल व्यवसायी संघको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जोशीले पर्यटन उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए। उनले भने, “पर्यटन व्यवसाय मात्र होइन, यो राष्ट्रको छवि, संस्कृति र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। होटल व्यवसायीहरू सशक्त भए मात्रै समग्र पर्यटन उद्योग बलियो हुन्छ।” उनले होटल व्यवसायीहरूलाई गुणस्तरीय सेवा, दिगो पर्यटन र एकताबद्ध भएर काम गर्न आह्वान पनि गरे।

बुढानिलकण्ठस्थित पबेरा हेरिटेज बुटिकमा आयोजित कार्यक्रममा विभिन्न होटल तथा पर्यटन संघ–संस्थाका पदाधिकारी, व्यवसायी र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जोशीले पछिल्ला वर्षमा पर्यटन आगमनमा देखिएको सुधारलाई अवसरको रूपमा लिन आग्रह गर्दै सेवा गुणस्तर, आतिथ्य संस्कार र डिजिटल प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। “अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न हामीले आफ्ना उत्पादन मात्र होइन, अनुभवलाई बेच्नुपर्छ,” उनले जोड दिए।

कार्यक्रममा संघका अध्यक्ष सुरेश बरालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै व्यवसायीका समस्या, बैंकिङ क्षेत्रको कर्जा दबाब, कर संरचना र पूर्वाधार अभावबारे धारणा राखे। साथै, पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएका नेपाल पत्रकार मञ्चका सचिव सन्तोष मिश्र र टुरिजमअफ नेपालका सम्पादक विश्वराज भण्डारीलाई सम्मान गरिएको थियो।

सभामा नयाँ कार्यसमितिलाई बधाई दिइएकोसाथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो। वक्ताहरूले पर्यटन उद्योगलाई चलायमान बनाउन संघ–संस्थाबीच सहकार्य, व्यवसायिक एकता र नीतिगत स्थायित्व अपरिहार्य रहेको धारणा व्यक्त गरे। कोभिडपछिको चुनौतीपूर्ण अवस्थाबाट उठ्दै गरेको पर्यटन क्षेत्रलाई दिगो, व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको सक्रियता नै मुख्य आधार हुने उनीहरूको निष्कर्ष रहेको छ।