शीर्षकहरू

औसत ब्याजदरभन्दा सस्तोमा शेयर कर्जाः लगानीकर्ताका लागि अवसर

औसत ब्याजदरभन्दा सस्तोमा शेयर कर्जाः लगानीकर्ताका लागि अवसर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्तालाई आकर्षित गर्न औसत ब्याजदरभन्दा कम दरमा शेयर कर्जा उपलब्ध गराउन थालेका छन्। बैंकहरुले सामान्य कर्जा भन्दा १–२ प्रतिशत कम ब्याजदरमा शेयर कर्जा उपलब्ध गराएपछि हाल बजारमा लगानीकर्ताबीच उत्साह देखिएको छ । यसले शेयर बजारमा कारोबार वृद्धि गर्न र लगानीकर्ताको पहुँच सहज बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ।

बैक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो लागेको छ। वित्तीय संस्थामा अधिक तरलता र कर्जा प्रवाह खुम्चिएपछि कर्जाको ब्याजदर ओरालो लागेको हो । गत पुस महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशतमा झरेको छ।

बैंकको आधार दर घट्दै गएकाले पनि कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ५ प्रतिशतमा झरेको छ । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। 

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले वाणिज्य बैंकहरुले ७.१० प्रतिशत औसत ब्याजदरमा शेयर धितो कर्जा दिदै आएको छन् । जुन कर्जाको भारित औसत ब्याजदर भन्दा कम हो । कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशतमा रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने यस्तो कर्जाको कुल आकार पुस मसान्तसम्म १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ। यो रकम असार मसान्तको तुलनामा ८.३ प्रतिशत बढी हो।

पुस मसान्तसम्मको विवरणमा पछिल्लो ६ महिनामा मात्र शेयर धितो कर्जा ११ अर्ब ७० करोड १२ लाख रुपैयाँले बढेको देखिन्छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर २६.३ प्रतिशत थियो। यस वर्ष वृद्धिदर केही सुस्त देखिए पनि कुल कर्जाको परिमाण विगतको तुलनामा अझै उच्च रहेको छ ।

पछिल्लो समयमा शेयर बजारमा मध्यम र साना स्तरका लगानीकर्ताहरूको सक्रियता बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार ५० लाखदेखि १ करोड तथा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका शेयर धितो कर्जामा सबैभन्दा बढी वृद्धिदर देखिएको छ। यसले बजारमा मध्यम र साना स्तरका लगानीकर्ताको सहभागिता बढिरहेको पुष्टि गर्छ।

५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२.८ प्रतिशतले बढेर १८ अर्ब रुपैयाँ पुगेको छ। २५–५० लाख रुपैयाँसम्मको कर्जा १०.३ प्रतिशतले बढेको छ भने २५ लाखभन्दा कम कर्जा ७.९ प्रतिशतले बढेको छ। ठूला लगानीकर्ताले लिने १ करोडभन्दा माथिको कर्जा भने ७.३ प्रतिशतले वृद्धि भएको छ।

ब्याजदर घटेको र बजारमा तरलता सहज भएकोले लगानीकर्ताहरूले बैंकमार्फत कर्जा लिएर शेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढाएको राष्ट्र बैंकले जनाएको छ। विशेषज्ञहरूका अनुसार साना र मध्यमस्तरका लगानीकर्ताको सहभागिता बढे पनि ठूला लगानीकर्ताको पकड अझै बलियो छ।

वित्तीय विशेषज्ञहरूले शेयर कर्जा सस्तो हुँदा लगानीकर्ताको जोखिम कम हुने तर बजार उतार–चढावको अवस्थामा सतर्क रहनुपर्ने चेतावनी दिएका छन्। यस किसिमको सुविधा विशेषगरी नयाँ सूचीकृत कम्पनी वा प्रतिफल अपेक्षित उच्च कम्पनीको शेयरमा लगानी गर्न चाहनेलाई लाभदायक ठानिन्छ। यस किसिमको कर्जा मार्फत लगानीकर्ताले आफ्नो पूँजी सीमित राख्दै बजारमा शेयर खरिद–बिक्रीमा सहभागी हुन सक्ने सुविधा पाएका छन्।

राष्ट्र बैंकका अनुसार विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ६.०९ प्रतिशतमा आएको छ । सबैभन्दा उच्च ब्याजदर रहेको ओभर ड्राफ्ट कर्जाको ब्याजदर ७.८१ प्रतिशत रहेको छ । यस्तै, अन्य सबै प्रकारको कर्जाको ब्याजदर यहीबीचमा रहेको छ ।

null

पछिल्लो समयमा बैंकहरुले घर कर्जा, सवारी कर्जा तथा शेयर कर्जाका आकर्षक योजनाहरु ल्याएर कर्जा विस्तारलाई जोड दिएका छन् । मौद्रिक नीतिले समेत घर कर्जा तथा शेयर कर्जाको नीति केही खुकुलो बनाएकाले यस क्षेत्रमा अझै कर्जा विस्तार हुने आँकलन गरिएको छ ।

कृषि, वन र पेय पदार्थ उत्पादन, माछापालन, बिजुली, ग्यास र पानी, धातु उत्पादन,मेसिनरी, इलेक्ट्रोनिक उपकरण, थोक बिक्रेता र खुद्रा बिक्रेता तथा  वित्त, बिमा र घर जग्गा लगायतका कर्जाको ब्याजदर साढे प्रतिशत भन्दा तल झरेका छन् । यातायात, सञ्चार र सार्वजनिक उपयोगिताका, होटल वा रेस्टुरेन्ट र अन्य सेवा क्षेत्रमा प्रवाह हुने कर्जाहरुको औसत ब्याजद पनि ७ प्रतिशत भन्दा कम छ । उपभोग्य र अन्य कर्जाको ब्याजदर पनि ८ प्रतिशत कम छ ।

अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी) ७४.३७ प्रतिशतमा झरेको छ। बैंक वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। बैंकहरुको कर्जा निक्षेप अनुपात निकै सहज अवस्थामा रहेकाले पनि कर्जा विस्तारका लागि प्रशस्त स्पेस देखिन्छ ।

सीडीका आधारमा बैंक वित्तीय संस्थाहरूसँग झण्डै साढे ११ खर्ब लगानीयोग्य रकम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अहिले बैंकहरुमा ७७ खर्ब ४ अर्ब निक्षेप पुगेको छ भने ५७ खर्ब ८८ अर्ब मात्र कर्जा लगानी गरेका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । तर, पनि कर्जा प्रवाह अपेक्षितरुपमा हुन सकेको छैन । कर्जा प्रवाह नभएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने भन्दा सस्तो ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप उपकरणमार्फत पैसा राखिरहेका छन् ।