काठमाडौं । नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार निर्देशिका, २०८२ लागू भएसँगै नासा सेक्यूरिटीजले फागुन ४ गतेदेखि ब्रोकरमार्फत कर्जा लिएर शेयर खरिद गर्न सकिने मार्जिन ट्रेडिङ सेवा सुरु गरेको जनाएको छ। यस सुविधाले लगानीकर्तालाई प्रत्यक्ष ब्रोकरमार्फत कर्जा लिएर दोस्रो बजारमा कारोबार गर्ने अवसर उपलब्ध गराउनेछ।
कम्पनीका अनुसार अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्, जसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउनेछ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको कम्पनीले बताएको छ।
कम्पनीले २०७५ को निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोवार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीको मार्जिन ट्रेडिङ्ग योजना अन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।
यस योजना अनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ । सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जानाएको छ ।
यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँ देखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिना देखि ३ महिना सम्मको रहनेछ।यस मार्जिन ट्रेडिङ सुविधा मार्फत लगानीकर्ताहरूले अझ ठूलो लगानी अवसरहरूको लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।
आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न नासा सेक्यूरिटीज सधैं प्रतिबद्ध छ । नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ्ग सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ्ग खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यसैले, ईच्छुक ग्राहकहरूले ऋण सम्बन्धी थप प्रक्रिया अघि बढाउन अब कम्पनीको नजिकको शाखा कार्यालयमा उपस्थित भई आफ्नो केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक जानकारी तथा कागजातहरू पेश गर्न सक्नेछन् । आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउन आवश्यक थप कार्यहरू अगाडि बढाइने कम्पनीले बताएको छ ।
यद्यपी यस सेवाको लाभ लिनका लागि ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूची भित्र मात्र कारोबार गर्नुपर्नेछ ।
नासा आफ्ना ग्राहकहरूलाई छिटो, उच्च गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै नासाले सकेसम्म धेरै लगानीकर्ताहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, सेवामा गुणात्मक सुधार गर्न नासाले आफ्ना ग्राहकलाई आफ्ना योजनाहरूमा सहभागी हुन तथा रचनात्मक सुझावहरू प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ ।
आर्थिकन्यूज