काठमाडौं। जीवन बीमा कम्पनीहरु एकल बीमाशुल्क भुक्तानी जीवन बीमा पोलिसी बिक्रीबाट पछि हटेका छन्। व्यवसायमा उच्च जोखिम देखिएपछि कम्पनीहरूले पोलिसी विक्री गर्न छाडेका हुन्।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा जीवन बीमा कम्पनीहरूले ७ हजार ९४६ वटा एकल बीमाशुल्क जीवन बीमा पोलिसी जारी गरेका छन्। यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा करिब २३ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा कम्पनीहरूले १० हजार ३०९ वटा एकल बीमाशुल्क जीवन बीमा लेख जारी गरेका थिए।
नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार, चालु आवको पुससम्म कम्पनीहरूले जारी गरेको कुल बीमा पोलिसीमध्ये एकल बीमाशुल्क जीवन बीमा पोलिसीको हिस्सा ०.२२ प्रतिशत मात्र रहेको छ। गत आवको सोही अवधिमा यो हिस्सा ०.३६ प्रतिशत थियो।
एकल बीमाशुल्क भुक्तानी बीमा पोलिसी भनेको बीमितले बीमा खरिद गर्दा एकपटक मात्र बीमाशुल्क भुक्तानी गर्ने पोलिसी हो। यस पोलिसीमा अभिकर्ताको कमिसन ६ प्रतिशत तोकिएको छ।
कम्पनीहरूका अनुसार, एकल बीमाशुल्क पोलिसी खरिद गर्ने बीमितमध्ये धेरैले छोटो अवधिमा नै पोलिसी सरेण्डर गर्ने वा पोलिसी धितो राखेर कर्जा लिने गरेका कारण कम्पनीहरूलाई जोखिम बढेको हो। केही बर्ष अघि अधिकांश कम्पनीहरुले एकल बीमाशुल्क भुक्तानी बीमा पोलिसीलाई प्रोत्साहित गरेका थिए। पोलिसी विक्री वितरणसँगै जोखिम पनि बढेपछि नेपाल बीमा प्राधिकरणकाे पोलिसी विक्री वितरणमा सीमा तोकेको थियो। अहिले भने कम्पनीहरू आफै सचेत भएको प्राधिकरणको बीमा शाखाका उपनिर्देशक केशव दाहालले बताए। ‘केही बर्ष अगाडी कम्पनीहरुले आक्रमक रुपमा एकल बीमाशुल्क भुक्तानी पोलिसी विक्री गरे । पोलिसीमा विकृति देखिन थालेपछि प्राधिकरणले सीमा तोकेको थियो। अहिले कम्पनीहरू आफै सचेत भएका छन्,’ उनले भने।
चालु आवको पहिलो ६ महिनाको अवधिमा ३६ लाख ८८ हजार ५५ वटा बीमा पोलिसी जारी भएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा करिब २९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा कम्पनीहरुले २८ लाख ६० हजार ४०३ वटा बीमा पोलिसी जारी भएको थियो।
जीवन बीमकहरुले जारी गर्दे आएको बीमा पोलिसीहरुको संख्याको आधारमा सबैभन्दा बढी हिस्सा लघु जीवन बीमाको ६८.४७ प्रतिशत रहेको छ भने सबैभन्दा कम हिस्सा आजीवन जीवन बीमा पोलिसीको ०.०७ प्रतिशत रहेको छ।
सावधिक जीवन बीमाको हिस्साको ३.८२ प्रतिशत, अग्रिम भुक्तानी सावधिक जीवन बीमाको ०.५६ प्रतिशत, रूपान्तरित सावधिक जीवन बीमा ०.७३, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाको हिस्सा १.५६ प्रतिशत छ। वैदेशिक रोजगार म्यादी जीवन बीमाको हिस्सा १०.८८ प्रतिशत, म्यादी जीवन बीमाको १३.५७ प्रतिशत र अन्य जीवन बीमाको हिस्सा ०.१२ प्रतिशत छ।
आजीवन जीवन बीमा पोलिसी गत बर्षको तुलनामा १०.१७ प्रतिशतले घटेको हो भने अन्य जीवन बीमा १४.७५ प्रतिशतले घटेको हो।
प्राधिकरणका अनुसार समीक्षा अवधिमा १ करोड ६२ लाख ५० हजार १३६ वटा बीमा पोलिसी सक्रिय छन्। यो संख्या गत आवको तुलनामा १५.७३ प्रतिशतले बढी हो।
सावधिक जीवन बीमाका २१ लख ९० हजार ५०२ वटा बीमा पोलिसी सक्रिय छन्। यो संख्या सक्रिय रहेका बीमा पोलिसीमध्ये १३.४८ प्रतिशत हो। अग्रिम भुक्तानी सावधिकको जीवन बीमाको हिस्सा २.८१ प्रतिशत, रूपान्तरित सावधिक जीवन बीमाको हिस्सा ३.६८ प्रतिशत, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाको हिस्सा ६.६८ प्रतिशत, वैदेशिक रोजगार म्यादी जीवन बीमाको हिस्सा १५.४२ प्रतिशत, आजीवन जीवन बीमाको हिस्सा १.०५ प्रतिशत, एकल बीमाशुल्क जीवन बीमाको हिस्सा ०.६५ प्रतिशत, म्यादी जीवन बीमाको हिस्सा २०.८४ प्रतिशत, लघु जीवन बीमाको हिस्सा ३४.६३ प्रतिशत र अन्य जीवन बीमाको हिस्सा ०.७६ प्रतिशत छ।
प्राधिकरणको तथ्यांक अनुसार बागमती प्रदेशमा सक्रिय रहेको बीमा पोलिसीको हिस्सा सबैभन्दा बढी ६३.४३ प्रतिशत रहेको छ । कोशी प्रदेशमा ११.३९ प्रतिशत, मधेश प्रदेशमा ४.३० प्रतिशत, गण्डकी प्रदेशमा ६.६३ प्रतिशत, लुम्बिनी प्रदेशमा ६.९४ प्रतिशत, कर्णाली प्रदेशमा ३.६५ प्रतिशत र सुदूरपश्चिमको हिस्सा ३.६५ प्रतिशत रहेको छ।
कर्णाली प्रदेशमा सक्रिय रहेको बीमा पोलिसीको हिस्सा अघिल्लो बर्षको तुलनामा १२१ प्रतिशतले बढेको छ । कोशी प्रदेशमा ६६ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा १४.९३ प्रतिशतले बढेको छ । बागमती प्रदेशमा ४.७७ प्रतिशतले बढेको छ । गण्डकी प्रदेशमा ६५ प्रतिशत, लुम्बिनी प्रदेशमा १०.२१ प्रतिशतले बढेको छ भने सुदूरपश्चिम १०.७६ प्रतिशतले बढेको छ ।
सावधिक जीवन बीमाको बीमाशुल्क ३२ प्रतिशतले बढेको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पुस महिनासम्ममा सावधिक जीवन बीमाबाट बीमा कम्पनीहरुले ३९ अर्ब २९ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट बीमा कम्पनीहरुले १८ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३.९५ प्रतिशतले बढी हो । रूपान्तरित सावधिक जीवन बीमाबाट भने कम्पनीहरूले ११ अर्ब १० करोड २९ लाख रुपैयाँ संकलन भएको छ। यो रकम गत आवको तुलनामा ५.१० प्रतिशतले बढी हो।
बालबच्चा सम्बन्धित सावधिक जीवन बीमाबाट भने बीमकहरुले १५ अर्ब ८३ लाख ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो रकम गत आवको तुलनामा २३.६६ प्रतिशतले बढी हो।
वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट कम्पनीहरुले १ अर्ब ७१ करोड ५६ लाख, आजीवन बीमाबाट २ अर्ब १६ करोड ६९ लाख, एकल बीमाशुल्कबाट ३ अर्ब ९६ करोड ६६ लाख, म्यादी बीमाबाट ८४ करोड ५० लाख, लघु बीमाबाट १ अर्ब ६२ करोड १७ लाख र अन्य बीमाबाट १ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ संकलन गरेको थियो।
कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट प्राप्त हुने बीमाशुल्कको गत आवको तुलनामा चालु आवमा ३.११ प्रतिशतले बढेको छ। आजीवन बीमाको १ं.८० प्रतिशत, एकल बीमाशुल्कको ३०.१३ प्रतिशत, म्यादी बीमामा १९.७६ प्रतिशत, लघु बीमामा २६.०१ प्रतिशत र अन्य बीमा ९.८३ प्रतिशतले बढेको हो।
मुना कुँवर