काठमाडौं। नेपालमा पुँजीबजारको विकासका लागि नेपाल स्टक एक्सचेञ्जलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने विषय दशकौँदेखि उठिरहेको छ। विभिन्न समयमा सरकारका निकायहरूले गरेको अध्ययनले नेप्सेलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले यसको पुनर्संरचना आवश्यक रहेको सुझाव दिएका छन्।
सरकारले प्रस्तुत गरेको बजेटमा पनि नेप्सेको पुनर्संरचना गर्ने योजना उल्लेख गरिएको छ । यसैक्रममा, सरकारले प्रकाश जंग थापाको संयोजकत्वमा “नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना सम्बन्धी सुझाव समिति २०८२” गठन गरेको थियो।
समितिले नेप्सेको पुँजी वृद्धि, स्वामित्व संरचना परिवर्तन, रणनीतिक साझेदारको समावेश तथा सञ्चालक समितिको संरचना परिमार्जन लगायतका महत्वपूर्ण सुझावहरू पेश गरेको छ।
यस्ता छन् विदेशी एक्सचेञ्जहरूको शेयर संरचना
बंगलादेशको दुई वटा स्टक एक्सचेन्ज छन्। ढाका स्टक एक्सचेञ्ज सन् २०१३ मा डिम्युचुअलाइज भई कर्पोरेट संरचनामा गएको हो । हाल यसको ७४.५७ प्रतिशत स्वामित्व धितोपत्र दलाल व्यवसायीहरूको, ०.४३ प्रतिशत व्यक्तिगत सेयरधनीको, ११.२५ प्रतिशत सांघाइ स्टक एक्सचेञ्ज र १३.७५ प्रतिशत सेन्जेन स्टक एक्सचेञ्जको रणनीतिक साझेदारी रहेको छ।
चितगोङ स्टक एक्सचेञ्ज पनि कर्पोरेट मोडलमा सञ्चालनमा रहेको छ, जहाँ १४८ संस्थागत लगानीकर्ताको ७५ प्रतिशत स्वामित्व र एबीजी लिमिटेडको २५ प्रतिशत रणनीतिक स्वामित्व रहेको छ।
चीनका सांघाइ र सेन्जेन स्टक एक्सचेञ्जहरू पूर्ण रूपमा सरकारी स्वामित्वमा सञ्चालनमा रहेका छन्।
हङकङको द स्टक एक्सचेञ्ज अफ हङकङ सन् २००० मा कर्पोरेट संरचनामा गएको हो । यसमा हङकङ एक्सचेञ्ज समूहको १०० प्रतिशत स्वामित्व रहेको छ र उक्त समूह स्वयं स्टक एक्सचेञ्ज अफ हङकङमै सूचीकृत छ।
भारतको नेशनल स्टक एक्सचेञ्ज कर्पोरेट मोडलमा सञ्चालनमा छ। यसको स्वामित्वमा व्यक्तिगत लगानीकर्ता २१.६३ प्रतिशत, प्रत्यक्ष विदेशी लगानीकर्ता २२.९३ प्रतिशत, बीमा कम्पनी १९.३६ प्रतिशत, विदेशी पोर्टफोलियो लगानीकर्ता ६.३० प्रतिशत, स्वदेशी वित्तीय संस्था ५.३१ प्रतिशत, बैंक ४.७३ प्रतिशत र अन्य ०.०१ प्रतिशत रहेका छन्। कुल सेयरधनी संख्या ३९,२०१ छ।
बम्बे स्टक एक्सचेञ्ज सन् २००७ मा कर्पोरेट बनेको हो । यसमा सर्वसाधारण सेयरधनीको ४८.८० प्रतिशत, विदेशी पोर्टफोलियो लगानीकर्ता १६.८० प्रतिशत, स्वदेशी संस्थागत लगानीकर्ता १२.३० प्रतिशत, अन्य २२.१० प्रतिशत स्वामित्व छ भने एस एण्ड पी डाउ जोन्स रणनीतिक साझेदारका रूपमा रहेको छ ।
इन्डोनेसियाको स्टक एक्सचेञ्ज कर्पोरेट संरचनामा सञ्चालनमा छ, जहाँ १०४ धितोपत्र दलाल व्यवसायीहरूको बराबर हिस्सेदारी रहेको छ।
कोरियाको कोरिया एक्सचेञ्ज सन् २००५ मा कर्पोरेट मोडलमा गएको हो । यसको ९०.२२८ प्रतिशत स्वामित्व धितोपत्र तथा डेरिभेटिभ्स दलाल व्यवसायीको, ३.८० प्रतिशत फिर्ता गरिएको सेयर, ३.०३ प्रतिशत कोरिया साना तथा स्टार्टअप एजेन्सी, २.०५ प्रतिशत कोरिया वित्तीय लगानी संघ, ०.८९ प्रतिशत कर्मचारी सेयर स्वामित्व संघ र ०.००२ प्रतिशत ६ जना व्यक्तिगत लगानीकर्ताको रहेको छ।
जापान एक्सचेञ्ज समूह सन् २००१ मा कर्पोरेट बनेको हो। यसमा विदेशी संस्थागत लगानीकर्ता ४०.४५ प्रतिशत, वित्तीय संस्था ३२.५१ प्रतिशत, वित्तीय मध्यस्थकर्ता १८.७५ प्रतिशत, व्यक्तिगत लगानीकर्ता ४.६१ प्रतिशत र अन्य संस्थागत लगानीकर्ता ३.६९ प्रतिशत रहेका छन्।
मलेसियाको बुर्सा मलेसिया सन् २००४ मा कर्पोरेट मोडलमा गएको हो । यसको ५०.४८ प्रतिशत स्वामित्व सरकारी स्वामित्वका संस्थाको, १८.२३ प्रतिशत विदेशी मनोनित लगानी, १६.८३ प्रतिशत स्वदेशी व्यक्तिगत लगानीकर्ता, १०.३६ प्रतिशत मलेसियन मनोनित, तथा बाँकी स्वामित्व स्वदेशी तथा विदेशी संस्थागत र व्यक्तिगत लगानीकर्तामा रहेको छ । यसले सार्वजनिक निष्काशन पनि गरिसकेको छ।
पाकिस्तान स्टक एक्सचेञ्ज सन् २०१२ मा कर्पोरेट बनेको हो । यसमा ६० प्रतिशत स्थानीय तथा विदेशी लगानीकर्ता, १७ प्रतिशत चाइना फाइनान्सियल फ्युचर्स एक्सचेञ्ज, ८ प्रतिशत सांघाइ स्टक एक्सचेञ्ज, ५ प्रतिशत सेन्जेन स्टक एक्सचेञ्ज, ५ प्रतिशत पाक–चीन इन्भेष्टर कम्पनी र ५ प्रतिशत हबीब बैंक लिमिटेडको स्वामित्व रहेको छ।
फिलिपिन्सको फिलिपिनीस्टक एक्सचेञ्ज सन् २००१ मा कर्पोरेट बनेको हो। यसमा सर्वसाधारण (व्यक्तिगत तथा संस्थागत) लगानीकर्ताको ५६.८३ प्रतिशत, संस्थापक लगानीकर्ताको ४३ प्रतिशत र सामूहिक लगानी कोष तथा एक्सचेञ्ज ट्रेड फन्डको ०.१७ प्रतिशत स्वामित्व रहेको छ । यसले सार्वजनि निष्काशन गरी सकेको छ।
सिगांपुरको सिंगापुर एक्सचेञ्ज लिमिटेड सन् १९९९ मा कर्पोरेट मोडलमा गएको हो । यसको ७०.७४ प्रतिशत स्वामित्व सर्वसाधारण (व्यक्तिगत तथा संस्थागत) लगानीकर्ताको र २.१८ प्रतिशत संस्थापक लगानीकर्ताको रहेको छ।
श्रींलकाको कोलम्बो स्टक एक्सचेञ्ज भने अझै पनि पारस्परिक स्वामित्व (म्युचुअली ओन्ड) मोडलमा रहेको छ, जहाँ धितोपत्र दलाल, व्यापारी तथा केही सूचीकृत संस्थाको स्वामित्व छ।
चाइनिज ताइपेइको ताइवान स्टक एक्सचेञ्जमा ७५.५३ प्रतिशत निजी संस्थागत तथा वित्तीय संस्थाको, २२.४७ प्रतिशत सरकारी निकाय तथा सरकारी बैंकको र २ प्रतिशत व्यक्तिगत लगानीकर्ताको स्वामित्व रहेको छ।
ताइपेइ स्टक एक्सचेञ्ज पारस्परिक स्वामित्वमा सञ्चालनमा रहेको छ, जहाँ ताइपेइ धितोपत्र दलाल संघ ४९ प्रतिशत, ताइवान स्टक एक्सचेञ्ज निगम ३४ प्रतिशत र ताइवान निक्षेप तथा क्लियरिङ निगम १७ प्रतिशत स्वामित्वमा छन्।
भियतनामको होचिमिन स्टक एक्सचेन्ज र हनोइ स्टक एक्सचेञ्ज पूर्ण रूपमा सरकारी स्वामित्वमा रहेको भियतनाम एक्सचेञ्ज अन्तर्गत सञ्चालनमा छन्।
कस्ता छन् विश्वका प्रमुख स्टक एक्सचेञ्जहरूले प्रयोग गरेका प्रविधिहरू ?
विश्वका प्रमुख स्टक एक्सचेञ्जहरू अत्याधुनिक स्वचालित व्यापार प्रणाली र मोबाइल तथा इन्टरनेट आधारित प्लेटफर्म प्रयोग गर्दै लगानीकर्तालाई छिटो, पारदर्शी र सुरक्षित कारोबारको सुविधा प्रदान गरिरहेका छन्।
बंगलादेश ढाका स्टक एक्सचेञ्जले २०१८ देखि नास्ड्याक र फ्लेक्सट्रेड ले प्रयोग गर्ने नास्ड्याक एक्स–स्ट्रीम आईनेट म्याचिङ इञ्जिन प्रयोग गर्दै आएको छ । यसले ठूलो अर्डर भोल्युम र जटिल अर्डर प्रकारहरू सजिलै व्यवस्थापन गर्न सक्छ। मोबाइल एप “डीएसई–मोबाइल” बाट लगानीकर्ताले सिधै स्मार्टफोनबाट कारोबार गर्न सक्छन्।
बजारमा हुने दुरुपयोगलाई ट्र्याक गर्न “स्माट्र्स” निगरानी प्रविधि (नास्ड्याकद्वारा विकसित) प्रयोग गरिएको छ।
चितगोङ स्टक एक्सचेञ्जले लन्डन स्टक एक्सचेञ्ज समूहले प्रयोग गरिरहेको मिलेनियम एक्सचेञ्ज प्लेटफर्म प्रयोग गर्दै आईरहेको छ । साना लगानीकर्तालाई पनि सहभागी गराउन इन्टरनेट कारोबार गरिन्छ । एकै दलालले दुई एक्सचेन्जसँग सजिलै कारोबार गर्न सकुन भनेर ढाका स्टकसँग प्राविधिक सहकार्य क्षमताको विकास गर्दैछ।
चीन सांघाई स्टक एक्सचेञ्जको प्रति सेकेण्ड लाखौ कारोबार हुने नयाँ पुस्ताको व्यापार प्रणाली (एनजीटीएस) को विकास गरिएको छ । यसले एआईमा आधारित डाटा निगरानी प्रणाली प्रयोग गरेर हरेक खाता वास्तविक समयमा ट्रयाक गर्छ।
द स्टक एक्सचेन्ज अफ हङकङले पुरानो भेन्टर प्रणालीलाई विस्थापित गर्दै ओरियन टेडिङ प्लेटफर्मको विकास गरेको छ।
यसले हङकङ स्टक एक्सचेञ्जलाई शाघांइ र सेन्जेन स्टक एक्सचेञ्जसँग जोड्छ । “ओरियन” प्लेटफर्मलाई डेरिभेटिभ्समा विस्तार गरिदैछ।
भारत नेशनल स्टक एक्सचेञ्जको नेशनल एक्सचेञ्ज फोर अटोमेटेड ट्रेडिङ (एनइएटि) प्रणाली पूर्व रुपमा स्वचालित छ।
पाकिस्तान स्टक एक्सचेञ्ज ले सन् २०२३ मा जेड ट्रेडिङ प्रणाली अपनाएको छ । यसले भित्री व्यापार र ठगीलाई निगरानी गर्छ । श्रीलंका कोलोम्बो स्टक एक्सचेञ्ज ले पूर्ण डिजिटलिकरण गर्दै मोबाइलमार्फत खाताहरु खोल्न सकिने इ–केवाइसी प्रणाली सुरु गरेको छ।
थाइल्याण्ड स्टक एक्सचेञ्ज २०२३ मा लाईभ एक्सचेञ्ज प्रणालीमा गएको छ। जापान एक्सचेञ्ज समूह ले २०२४ मा एरोहेड ४.० प्रणाली चलायो, जसले अर्डर माइक्रोसेकेन्डमै कारोबार गर्न सक्छ।
कोरिया एक्सचेञ्जले एक्स्टेन्डेड अटोमेटेड ट्रेडिङ प्रणाली (ईएटीएस) प्रयोगमा ल्याएको छ । मलेसिया (बुर्सा) ले बुर्सा ट्रेड सेक्युरिटिज २ प्रणाली प्रयोगमा ल्याएको छ।
मुना कुँवर