शीर्षकहरू

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

काठमाडौं । नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको प्रसारण लाइन आपूर्तिसम्बन्धी महत्वपूर्ण स्वीकृति प्राप्त गरेको छ।

पीजीसीआईएलले अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्दै आएको छ। उक्त स्वीकृतिसँगै लिट्मस् सीमापार विद्युत् प्रसारण परियोजनाका लागि छनोट हुने एकमात्र नेपाली उत्पादक बनेको कम्पनीले जनाएको छ।

सम्झौताअनुसार कम्पनीले ४०० केभी एसीएसआर ‘मूस’ कन्डक्टर २ हजार ७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टरहरू नेपाल–भारत सीमापार डिडिङ–ढल्केबर–बथनाहा प्रसारण लाइनमा प्रयोग हुनेछन्। उक्त प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ।

नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर ‘मूस’ कन्डक्टर उत्पादन हुन लागेको कम्पनीले जनाएको छ। यसलाई स्वदेशी प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

परियोजना स्वीकृत गर्नुअघि पीजीसीआईएलको प्राविधिक टोलीले कम्पनीको उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण पूर्वाधार तथा कारखाना संरचनाको विस्तृत मूल्याङ्कन गरेको थियो। सो मूल्याङ्कनपछि कम्पनीलाई परियोजनाका लागि योग्य आपूर्तिकर्ता रूपमा स्वीकृति दिइएको हो।

ढल्केबर–बथनाहा प्रसारण लाइन नेपाल–भारत ऊर्जा व्यापार विस्तारसँग सम्बन्धित महत्वपूर्ण सीमापार पूर्वाधार हो। ९०० मेगावाट क्षमताको अरुण–३ आयोजना सञ्चालनमा आएपछि उत्पादित विद्युत् प्रसारणका लागि यो लाइन मुख्य संयोजनका रूपमा प्रयोग हुनेछ। आयोजनाले नेपालको ऊर्जा सुरक्षा तथा औद्योगिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसअघि पनि लिट्मस् इन्डस्ट्रिजले ठूला प्रसारण आयोजनामा काम गरिसकेको छ। कम्पनीले नेपाल विद्युत् प्राधिकरणका लागि हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन परियोजनामा ३ हजार ६ सय किलोमिटर एसीएसआर ‘मूस’ कन्डक्टर आपूर्ति गरेको थियो।

सन् १९७७ मा स्थापना भएको लिट्मस् इन्डस्ट्रिज, रमेश कर्प समूहअन्तर्गत सञ्चालनमा रहेको उद्योग हो। कम्पनीले मध्यम भोल्टेज एक्सएलपीई कन्डक्टर, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल उत्पादन गर्दै आएको छ।

बुटवल र नवलपरासीमा रहेका दुई उत्पादन केन्द्रमार्फत कम्पनीले एल्युमिनियम रड उत्पादनसमेत गर्दै आएको छ। कम्पनीका अनुसार उत्पादन तथा प्रक्रिया राष्ट्रिय र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सञ्चालन हुँदै आएको छ।