काठमाडौं। नेपाल राष्ट्र बैंकले जाली नोट मुद्रण, ओसारपसार तथा कारोबार गर्नु गैरकानुनी भएको स्मरण गराउँदै शंकास्पद बैंकनोट भेटिए नजिकको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा बुझाउन आग्रह गरेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा आर्थिक कारोबारका क्रममा नोट शंकास्पद लागेमा त्यसको स्रोतबारे जानकारीसहित सम्बन्धित निकायमा बुझाउन भनिएको छ। जाली नोट पहिचान गर्न ‘हेरेर, छामेर र ढल्काएर’ परीक्षण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
नोट छाम्दा साधारण कागजजस्तो चिप्लो लागेमा, रङ फिक्का देखिएमा, सुरक्षण धागो रङले पोतेको वा बाहिरबाट टाँसेको जस्तो देखिएमा तथा उठ्नुपर्ने भागहरू (इण्टाग्लियो प्रिन्ट) सम्म र चिप्लो महसुस भएमा थप परीक्षण गर्न सुझाव दिइएको छ।
‘हेरेर, छामेर र ढल्काएर’ पहिचान गर्न सकिन्छ जाली नोट
राष्ट्र बैंकले रू. १,००० र रू. ५०० दरका बैंकनोटमा रहेका सुरक्षण विशेषताबारे सर्वसाधारणलाई जानकारी गराएको छ।
रू. १,००० दरका नोटका विशेषता
हेरेर थाहा हुने :
– प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँस र ‘1000’ को पानीछाप (Watermark) देखिन्छ।
– प्रकाशमा हेर्दा ‘See-through register’ मिलेर पूर्ण ‘1000’ देखिन्छ।
छामेर थाहा हुने :
– नोटको सतह खस्रो हुन्छ र छापिएका भाग उठेको (Intaglio) महसुस हुन्छ।
– दृष्टिविहीनका लागि अंग्रेजी अक्षर ‘M’ उठेको रूपमा राखिएको हुन्छ।
ढल्काएर थाहा हुने :
– सुरक्षण धागो चलेको जस्तो देखिन्छ।
– भगवतीको आकृति सिल्भर रङमा देखिन्छ।
– Iridescent ink सुनौलो रङमा प्रष्ट देखिन्छ।
मेसिनबाट थाहा हुने :
– Ultra Violet (UV) प्रकाशमा सगरमाथाको आकृति टल्किन्छ।
– गभर्नरको सही र नोट नम्बरहरू UV मा चम्किन्छन्।
रू. ५०० दरका नोटका विशेषता
हेरेर थाहा हुने :
– प्रकाशमा हेर्दा लालीगुराँसको पानीछाप देखिन्छ।
– ‘See-through register’ मिलेर ‘NRB’ देखिन्छ।
– सुरक्षण धागोमा ‘NRB 500’ र बाघको आकृति देखिन्छ।
छामेर थाहा हुने :
– नोट खस्रो हुन्छ र इण्टाग्लियो प्रिन्ट उठेको महसुस हुन्छ।
– दृष्टिविहीनका लागि दुईवटा उठेका थोप्ला राखिएका छन्।
ढल्काएर थाहा हुने :
– सुरक्षण धागोको रङ रातोबाट हरियोमा परिवर्तन हुन्छ।
– कुबेरको आकृतिको रङ सुनौलोबाट हरियोमा परिवर्तन हुन्छ।
मेसिनबाट थाहा हुने :
– UV प्रकाशमा सगरमाथाको आकृति, गभर्नरको सही र नोट नम्बर टल्किन्छन्।

आर्थिकन्यूज