शीर्षकहरू

ट्याक्सी सेवामा सिडानबाहेकका सवारीलाई पनि अनुमति दिन नाइमाको माग

ट्याक्सी सेवामा सिडानबाहेकका सवारीलाई पनि अनुमति दिन नाइमाको माग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ट्याक्सी सेवा मापदण्ड, २०८१ सम्बन्धी केही व्यवहारिक तथा नीतिगत विषयमा संशोधन गर्न सुझाव दिएको छ। संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष औपचारिक रूपमा पत्र बुझाउँदै राष्ट्रिय मापदण्डअनुसार योग्य सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न आग्रह गरेको हो।

नाइमाका अनुसार हाल कार्यान्वयनमा रहेको मापदण्डले ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरेको छ। ती वर्गअन्तर्गत प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी स्पष्ट विशिष्टिकरण तोकिएको छ र ती मापदण्ड पूरा गर्ने सवारीलाई ट्याक्सी सेवामा सञ्चालन गर्न सकिने व्यवस्था रहेको संघले जनाएको छ।

तर बागमती प्रदेशमा व्यवहारमा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको भन्दै नाइमाले आपत्ति जनाएको छ। राष्ट्रिय मापदण्डमा सिडानमै सीमित गर्ने प्रावधान नभएको उल्लेख गर्दै संघले तोकिएका सबै शर्त पूरा गर्ने अन्य सवारी वर्गलाई पनि अनुमति दिनुपर्ने धारणा राखेको छ।

सिडान बाहेकका उपयोगी तथा यात्रुमैत्री सवारीलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको नाइमाको भनाइ छ। मापदण्डअनुसार योग्य अन्य वर्गका सवारीलाई अनुमति दिइए सेवा प्रदायकलाई लचकता मिल्ने, यात्रुका लागि पर्याप्त स्थान, सामान राख्ने सुविधा, पहुँचयोग्यता (अपाङ्गतामैत्री व्यवस्था) तथा समूहअनुसार विकल्प उपलब्ध हुने संघले उल्लेख गरेको छ।

पत्रमा विश्वका विभिन्न देशमा फरक–फरक आकार र वर्गका सवारीमार्फत ट्याक्सी सेवा सञ्चालन भइरहेको उदाहरण प्रस्तुत गरिएको छ। नेपालका केही सहरमा फरक वर्गका सवारीलाई अनुमति दिइएको भए पनि बागमती प्रदेशमा विकल्प सीमित हुँदा व्यवहारिक असमानता देखिएको संघको धारणा छ।

नाइमाले मन्त्रालयद्वारा तयार गरिएको नीतिगत ढाँचाको उद्देश्यप्रति सम्मान व्यक्त गर्दै आफ्ना सुझाव उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता र सेवा गुणस्तर अभिवृद्धिको उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको संघले जनाएको छ।