कालिकोट, २८ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा ३ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली र औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरी हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जडान गरिएको उक्त प्रणालीले नियमित विद्युत् आपूर्तिको अभावका कारण औषधि, खोप तथा संवेदनशील सामग्री सुरक्षित राख्न भइरहेको समस्या समाधान गर्ने विश्वास गरिएको छ। कार्यक्रममा कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
निर्देशक जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको बताइन।
यसै क्रममा वर्ल्डलिंकले सोही वडास्थित श्री पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई अनलाइन स्मार्ट बोर्डमार्फत अंग्रेजी भाषा कक्षा सञ्चालन गरेको छ। लोकोपकार संस्थासँगको सहकार्यमा सञ्चालित कार्यक्रममा निर्देशक जालानले स्थलगत अवलोकन गर्दै विद्यार्थीको सिकाइ प्रगति मूल्यांकन गर्नुभएको थियो। सहभागी विद्यार्थीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। वर्ल्डलिंकको यस पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार तथा डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज