काठमाडौं। जिलीअटोमोबाइल होल्डिङ्स लिमिटेडले सन् २०२५ मा कीर्तिमानी व्यापार गर्दै विश्वव्यापी सवारी बजारमा आफ्नो वर्चस्व स्थापित गरेको छ। कम्पनीले गत वर्ष ३० लाख २० हजारभन्दा बढी सवारीसाधन बिक्री गरी ३९ प्रतिशतको उत्साहजनक वार्षिक वृद्धि हासिल गरेको छ।
यस अभूतपूर्व सफलतासँगै जिलीले "वान जिली: इनोभेसन र इन्टिग्रेसनमा अग्रणी" नामक पाँचवर्षे रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ, जसको मुख्य लक्ष्य सन् २०३० सम्ममा कम्पनीलाई विश्वकै शीर्ष पाँच अटोमोबाइल समूहभित्र उभ्याउनु हो।
विद्युतीय सवारीतर्फको तीव्र रूपान्तरण
सन् २०२५ को यो उपलब्धिमा 'न्यु इनर्जी भेहिकल' (NEV) को भूमिका निर्णायक रह्यो, जसको बिक्री झण्डै दोब्बरले बढेर १६ लाख ९० हजार युनिट पुगेको छ। जिलीको 'ग्यालेक्सी' शृङ्खलाले मात्र २९ महिनामा १० लाख युनिट बिक्रीको कोशेढुङ्गा पार गरेर उद्योगमै नयाँ कीर्तिमान कायम गरेको छ।
त्यसैगरी, प्रिमियम इलेक्ट्रिक ब्रान्ड 'जिकर' (ZEEKR) ले आफ्नो विश्वव्यापी उपस्थितिलाई ५० भन्दा बढी देशमा विस्तार गरेको छ। भोल्भो, पोलस्टार र लोटससमेत सम्मिलित जिली होल्डिङ ग्रुपले समग्रमा ४१ लाख २० हजार सवारीसाधन डेलिभरी गर्दै विश्वको सातौँ ठूलो अटो निर्माता बन्न सफल भएको छ।
रणनीतिक विस्तार र बजार प्रक्षेपण
सन् २०२६ का लागि जिलीले ३४ लाख ५० हजार युनिट बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ। कम्पनीले यसै वर्ष पारिवारिक सेडानदेखि विलासी एमपीभी (MPV) सम्मका १५ वटा नयाँ इलेक्ट्रिक मोडलहरू बजारमा उतार्ने योजना बनाएको छ।
अन्तर्राष्ट्रिय बजारलाई प्राथमिकतामा राख्दै जिलीले सन् २०२६ मा आफ्नो निर्यातलाई ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्ने लक्ष्य लिएको छ। विशेषगरी नेपाल जस्ता उदीयमान बजारमा जिलीले आफ्नो 'ईएक्स ५' (EX5) जस्ता मोडलमार्फत बलियो पकड जमाउँदै लगेको छ।
स्थानीय उत्पादन र वैश्विक साझेदारी
विश्वव्यापी व्यापारिक अवरोध र भन्सार शुल्कको चुनौतीलाई चिर्न जिलीले अब स्थानीय उत्पादन र रणनीतिक साझेदारीमा जोड दिएको छ। कम्पनीले उत्तर अमेरिकामा आफ्नो उपस्थिति बलियो बनाउन मेक्सिकोमा प्लान्ट स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिएको छ।
यसका साथै. रेनो र फोर्डजस्ता स्थापित विश्वव्यापी साझेदारहरूसँगको सहकार्यमार्फत उत्पादन लागत घटाउँदै प्रविधि हस्तान्तरणमा जिलीले ठूलो लगानी गरिरहेको छ।
सन् २०३० को मार्गचित्र: भविष्यको गतिशीलता
जिलीले सन् २०३० सम्ममा आफूलाई केवल कार निर्माताका रूपमा मात्र नभई 'भूमिदेखि आकाशसम्म' (Ground-to-Air) को मोबिलिटी इकोसिस्टमको नेतृत्वकर्ताका रूपमा हेरेको छ। यस रणनीतिक योजनाअन्तर्गत सन् २०३० सम्म वार्षिक ६५ लाख सवारीसाधन बिक्री गर्ने, जसमध्ये ७५ प्रतिशत हिस्सा विद्युतीय सवारीको हुने लक्ष्य राखिएको छ।
आगामी पाँच वर्षभित्र कम्पनीले १ लाख रोबोट्याक्सी परिचालन गर्ने, भू-उपग्रहमा आधारित कनेक्टिभिटी विकास गर्ने र मेथानोल-हाइड्रोजन जस्ता स्वच्छ ऊर्जाका विकल्पहरूलाई प्रवद्र्धन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ।
आर्थिकन्यूज