काठमाडौं। नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर (पीएनसीपीएस) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डको स्वीकृतिसँगै बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्नेछ।
बैंकले जारी गर्ने अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ। यो लाभांश बैंक नाफामा रहेको वर्षमा मात्र वितरण गरिनेछ। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाएको छ।
यससँगै माछापुच्छ्रे बैंक अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने पाँचौं वाणिज्य बैंक बनेको छ। यसअघि नबिल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकले यस्तो सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्।
बैंकहरूले पछिल्लो समय पूँजीकोष सुदृढ बनाउन अविमोच्य असञ्चित अग्राधिकार सेयरलाई वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न थालेका छन्। यस्तो सेयर खरिद गरेपछि लगानीकर्ताले सावाँ रकम फिर्ता माग्न पाउँदैनन् र बैंकले चाहेको अवस्थामा बाहेक रकम स्थायी पूँजीका रूपमा रहन्छ।
असञ्चित प्रकृतिका कारण कुनै वर्ष नाफा नभए लाभांश वितरण हुँदैन र पछि नाफा हुँदा अघिल्लो वर्षको लाभांश जोडिँदैन। तर बैंक नाफामा भएको अवस्थामा साधारण सेयरधनीलाई लाभांश बाँड्नुअघि अग्राधिकार सेयरधनीलाई तोकिएको दरमा लाभांश दिनुपर्ने प्रावधान छ।
बोर्डका अनुसार यस्तो सेयर बढीमा ५० जना संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्न पाइन्छ। सर्वसाधारणलाई भने यसमा लगानी गर्न अनुमति छैन। अनुमति पाएको दुई महिनाभित्र निष्कासन प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।
आर्थिकन्यूज