शीर्षकहरू

लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २६४२ बिन्दुमा झर्‍यो, कारोबारमा भने सुधार

लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २६४२ बिन्दुमा झर्‍यो, कारोबारमा भने सुधार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लाग्दै बन्द भएको छ। अघिल्लो दिन ८.१६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार थप २०.७५ अंकले घटेर २६४२.१५ बिन्दुमा झरेको हो। यससँगै नेप्से ०.७७ प्रतिशतले कमजोर बनेको छ।

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंकले ओरालो लागेको छ।

परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। मंगलबार ३५४ कम्पनीका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८३ हजार ७५ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ। अघिल्लो दिन ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह सर्वाधिक २.११ प्रतिशतले घटेको छ। त्यस्तै जलविद्युत १.६३ प्रतिशत, होटल तथा पर्यटन १.१९ प्रतिशत र विकास बैंक १.१८ प्रतिशतले घटेका छन्। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक भने सामान्य बढेको छ।

घट्दो बजारमा पनि ४२ कम्पनीको सेयर मूल्य बढेको छ। सालपा विकास बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै १० प्रतिशतले बढेर ३६३ रुपैयाँमा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.६४ प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको मूल्य करिब ८.३ प्रतिशतले उकालो लागेको छ। यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आँखुखोला जलविद्युत कम्पनीको करिब ४४ करोड रुपैयाँ र ङादी ग्रुप पावरको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

लगातार दोस्रो दिनको गिरावटले लगानीकर्तामा सतर्कता बढाएको देखिन्छ। विश्लेषकहरूका अनुसार बजारमा पछिल्लो समय देखिएको अस्थिरता र नाफा सुरक्षित गर्ने प्रवृत्तिले परिसूचकमा दबाब परेको हो।

null