काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा ४५ कम्पनीले आफ्नो उत्पादनको सर्टिफिकेट अफ ओरिजिन (उत्पादन प्रमाणपत्र) पाएका छन् ।उद्योग विभागले चालु आवको साउनदेखि माघ मसान्तसम्म ४५ वटा कम्पनीका उत्पादनहरूलाई सर्टिफिकेट अफ ओरिजिन (सीओओ) का लागि योग्य रहेको सिफारिस गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ मार्फत सिफारिसका लागि उद्योग विभागमा आएका ४५ वटा कम्पनीका उत्पादनहरूले सर्टिफिकेटको सिफारिस पाएको विभागका सूचना अधिकारी सुरेश दाहालले बताए ।
सूचना अधिकारी दाहालका अनुसार उक्त सर्टिफिकेट विभागले दिने होइन । विभागले मात्र सिफारिस गर्ने हो । विभागको सिफारिसमा एफएनसीसीआई, चेम्बर र परिसंघले सीओओ जारी गर्छ । सीओओ पाएको प्रोडक्ट भारतमा निर्यात हुँदा भारतले कुनै पनि भन्सार शुल्क लगाउँदैन ।
अर्थात् सीओओ प्रमाणीकरण भएका नेपाली उत्पादनलाई भारतले शून्य भन्सार शुल्क लागु गर्दछ । खासगरी नेपाल र भारतको व्यापार सन्धिमा टेकेर नेपाली उत्पादनले यो सुविधा पाउने गरेका हुन् । नेपाल भारत व्यापार सन्धि भएको समय सन् १९५० देखि नै नेपालका व्यवसायीले यो सुविधा उपयोग गर्दै आएका छन् ।
उक्त सन्धि अनुसार नेपालकै कच्चा पदार्थ वा भारतको कच्चा पदार्थबाट नेपालमा उत्पादन भएका बस्तुहरुले सीओओ पाउन योग्य हुने सूचना अधिकारी दाहालको भनाई छ । यदि नेपाल र भारतबाहेक तेस्रो मुलुकको कच्चा पदार्थ प्रयोग भएको अवस्थामा भने सीओओ पाउन अलिक कडाई गरिएको छ । तेस्रो मुलुकको कच्चा पदार्थबाट उत्पादन गरिएका उत्पादनको हकमा ३० प्रतिशत भ्यालु एडिसन भएको खण्डमा मात्रै ति उत्पादनहरू सीओओका लागि योग्य हुने उनी बताउँछन् ।
तर, योग्य हुनु भनेको सीओओ पाउनु होइन । सीओओ पाउन यी बाहेक अन्य धेरै मापदण्ड पुरा हुनुपर्दछ । सूचना अधिकारी दाहालले भने, 'उत्पादन गर्ने उद्योगले सो बस्तु उत्पादन गर्न सक्ने पूर्वाधार हुनु पर्यो, तेस्रो मुलुकबाट आयात भएको कच्चा पदार्थ भएको खण्डमा कच्चा पदार्थ र उत्पादित वस्तुको एचएसकोर्ड फरक हुनु पर्दछ । यसका साथै अन्य धेरै मापदण्ड पुरा गरेको हुनु पर्दछ । त्यसमध्ये मुख्य मापदण्ड यिनै हुन् ।’
सीओओको सिफारिस पाउने प्रक्रिया
एफएनसीसीआईका उपाध्यक्ष हेमराज ढकालका अनुसार कुनै पनि व्यवसायीले सीओओका लागि सुरुमा एफएनसीसीआई, चेम्बर, परिसंघ र व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रमा आफ्नो उत्पादन दर्ता गर्नु पर्दछ ।
यसरी दर्ता भएपछि सम्बन्धित संस्था तथा निकायले सो उत्पादन स्वदेशी हो कि होइन भनेर अध्ययन गर्दछ ।
त्यसमा तेस्रो मुलुकको कच्चा पदार्थ हो भने भ्यालु एडिसन कति छ ? सो उद्योगले उक्त प्रोडक्ट कति उत्पादन गर्दछ, क्षमता कति हो ? भन्ने लगायतका विषय अध्ययन गरेपछि विभागमा सम्बन्धित संगठन तथा निकायले उद्योग विभागमा पठाउँछ ।
उद्योग विभागले पनि सोही विषयमा अध्ययन गर्दछ । जसका लागि विभागमा प्राविधिक उपसमिति रहेको छ । सो समितिमा विभागका तथ्यांक अधिकृत र ईन्जिनियर पनि सदस्य छन् । सो समितिले फिल्डमै गएर अध्ययन गरेपछि प्राविधिक समितिलाई रिपोर्ट बुझाउँछ ।
प्राविधिक समितिको संयोजक भने विभागका महानिर्देशक रहने व्यवस्था छ। अर्थात् उपसमितिले समितिका संयोजक तथा महानिर्देशकलाई अध्ययन रिपोर्ट बुझाउँछ ।
सूचना अधिकारी दाहालका अनुसार उक्त रिपोर्टका आधारमा महानिर्देशकले सो उत्पादनलाई सीओओ जारी गर्न योग्य रहेको गरिदिन्छन् ।
विभागले गरेको सिफारिसका आधारमा चेम्बर, एफएनसीसीआई, परिसंघ र केन्द्रले सीओओ जारी गरिदिन्छ ।
जसमा कुन उत्पादन कति परिणाममा विदेश निर्यात गर्ने भन्ने विषय पनि हुन्छ । तोकेको परिणाम निर्यात गरेपछि सो प्रोडक्टले फेरी सीओओ लिन सक्छ । त्यसका लागि सुरू देखि सबै प्रक्रिया पुरा गर्नु पर्दछ, ।
यी हुन् चालु आर्थिक वर्षको ७ महिनामा सीओओ पाउने उद्याेगहरू
प्याक्ट ग्रुप क्लोजर सिस्टम्स नेपाल प्रालि मकवानपुर, ग्लोबल स्टिल प्रालि, पर्सा, एलाइड स्टील्स प्रालि, पर्सा, आरएम इण्डष्ट्रिज, बारा, शिव कल्था उद्योग प्रालि, बाँके, त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालि, बारा, प्रदिप काष्ठ तथा भेनियर उद्योग, मोरङ्ग, सिद्धकाली भेनियर एण्ड मिल, मोरङ्ग, टेक्सटाइल फ्याक्ट्री, पर्सा र बीएचपी म्यानुफ्याक्चरिङ्ग प्रलि बाराका विभिन्न उत्पादनहरुले सीओओ पाएका छन् ।
त्यसैगरी, बीडीबी मेडिक्लेक्स नेपाल प्रालि, महोत्तरी, सिद्धार्थ सनराइज इण्डष्ट्रिज प्रालि भैरवहा, सगरमाथा प्रिकास्ट सोलुसन्स प्रालि, नवलपरासी, मिथिला प्लाई वुड उद्योग, महोत्तरी, प्रभु मेनियर ट्रेडिङ्ग प्रालि सुनसरी, जीएस प्लाईवुड इण्डष्ट्रिज प्रालि, सुनसरी, सगुन भेनियर उद्योग, सुनसरी, स्वस्तिक भेनियर तथा प्लाईवुड उद्योग, सुनसरी, नेप्चा इन्टरनेशनल इण्डष्ट्रिज प्रालि, ललितपुर, बकस रिन्युवेवल इनर्जी प्रालि, सर्लाही, आरएमसी फुड्स प्रालि, बिरगंज, निलकण्ठ वुड प्रालि, सुनसरी सनटेक्स स्टिल प्रालि बिरगंज, नेपाल जुत्ता फ्यक्ट्री प्रालि, डावर नेपाल प्रालिले सीओओ पाएका छन् ।
त्रिवेणी प्लाष्टो पोलिमर्स प्रालि, बारा, गंगा गम रोजिन एण्ड टर्पेन्टाइन प्रालि, बांके, हुलास खाद्य उद्योग प्रालि, बांके, बाहुबली रोजिन एण्ड टर्पेण्टाइन, बांके, कालिका रिफाइनरी प्रालि, गैंडाकोट,अरिहन्त पोलिप्याक्स लि, सुनसरी, जानकी पोलिकेम प्रालि, मोरङ्ग, श्रीकृष्ण भेनियर उद्योग, मोरङ्ग र शौर्य सिमेण्ट इण्डष्ट्रिज लि, सिराहाले सीओओ लिएका छन् ।
यस्तै, प्रेष्टिज कार्पेट इण्डष्ट्रिज, बारा, जगदम्बा ब्याट्री उद्योग प्रालि, रौतहट, जानकी स्टील इण्डष्ट्रिज प्रालि, पर्सा सूर्य कत्था उद्योग प्रालि, सुनसरी, बागेश्वरी कत्था उद्योग प्रालि, बांके, जिन्दल पोलिप्याक प्रालि, पर्सा, प्रेष्टिज भिनायल, बारा, शिवम् स्टिल प्रालि, सगरमाथा एलुमुनियम र नेचर इन्टरनेशनल प्रालि, पर्साको आफ्नो विभिन्न उत्पादनहरुले सीओओ पाएको छ ।
लक्ष्मण लम्साल