शीर्षकहरू

खोकना विवादलाई थाती राखेर द्रुतमार्गको वैकल्पिक प्रस्थानविन्दुबाट अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

खोकना विवादलाई थाती राखेर द्रुतमार्गको वैकल्पिक प्रस्थानविन्दुबाट अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको खोकना प्रस्थानविन्दुसँग जोडिएको विवाद थाती राखेर आयोजना वैकल्पिक प्रस्थानविन्दुबाट अघि बढाउन निर्देशन दिएकी छन्।

ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायले चासो व्यक्त गरेकाले प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उच्चस्तरीय बैठकमा डीपीआर संशोधन गरेर वैकल्पिक मार्गबाट काम अघि बढाउन निर्देशन दिएकी हुन्।

गत माघ १३ गते पनि उनी उक्त द्रुतमार्गको निर्माणाधीन भागको निरीक्षण गर्न आएकी थिइन् र त्यस बेला पनि विकास निर्माण गर्दा स्थानीय सरोकारलाई ध्यान दिन र अनावश्यक विवाद वा ढिलाइ नगर्न सुझाव दिएकी थिइन्। साथै, “राष्ट्रिय गौरवको आयोजना भए पनि विवादमा अल्झिएर अनिश्चितकालसम्म नबस्न, विकल्प खोजेर अघि बढ्नुपर्छ” भन्ने भनाइ बैठकमा दोहोर्याइयो।

आजको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधानसेनापति अशोकराज सिग्देल र सम्बन्धित मन्त्रालयका सचिव र अधिकारीहरू सहभागी थिए।

बैठकमा नेपाली सेनाले आयोजनाको हालसम्मको प्रगति, समस्या र सरकारसँगको अपेक्षा बारे विस्तृत ब्रिफिङ दिएको थियो। प्रधानमन्त्रीले आयोजनामा ढिलाइ नगर्न, विवाद भए वैकल्पिक समाधान खोज्न र द्रुतमार्गलाई छिटो सञ्चालनयोग्य बनाउन निर्देशन दिएकी छन्।

उनको निर्देशनअनुसार खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गरेर डीपीआर संशोधन गर्ने योजना अघि बढाइने भएको छ।

प्रधानमन्त्रीले आयोजनाको ढिलो सम्पन्न हुने सम्भावनाले राष्ट्रिय अर्थतन्त्रमा थप बोझ पर्न सक्ने भएकाले त्यसलाई रोक्न र द्रुतमार्गलाई तत्काल सञ्चालनयोग्य बनाउने पक्षमा ध्यान केन्द्रित गर्न भनिन्।

यस निर्णयले पर्यावरण, सांस्कृतिक संवेदनशीलता र राष्ट्रिय पूर्वाधार विकासबीच सन्तुलन कायम गर्दै परियोजनालाई समयमै टुङ्ग्याउने प्रयासलाई फोकस गरेको विश्लेषकहरूले बताएका छन्।