काठमाडौं । बीमा क्षेत्रमा धैर्य, निरन्तरता र इमानदार मेहनतका साथ सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धादिङ खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ। हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बनेपा रिजनबाट सक्रिय रहेका गुरुङ पाँच पटक एमडिआरटी (MDRT) र तीन पटक सीओटी (COT) बन्न सफल भएका छन्।
उनको बीमा यात्रा सहज भने थिएन। २०६१ सालमा बीमा क्षेत्रमा प्रवेश गरे पनि निरन्तरता दिन सकेनन् र करिब १० वर्ष वैदेशिक रोजगारीका लागि गल्फ मुलुक पुगे। विदेशबाट फर्किएपछि पुनः अध्ययन र पेशालाई सँगसँगै अघि बढाउँदै बीमालाई पूर्णकालीन रूपमा अपनाए। हाल उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्।
काठमाडौंमा घरबेटीको सुझावमा अभिकर्ता लाइसेन्स लिएर सुरु गरेको यात्रा आज उल्लेखनीय उपलब्धिमा पुगेको छ। साबिक सानिमा लाइफको सुरुवाती चरणदेखि नै आबद्ध गुरुङले टिम निर्माणमा पनि सक्रिय भूमिका खेलेका छन्। हाल उनको नेतृत्वमा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन्।
आजसम्म उनले ७५० भन्दा बढी बीमा पोलिसी जारी गरिसकेका छन्। एउटै परिवारका सदस्यहरूले १३ वटासम्म पोलिसी लिएको उदाहरण दिँदै उनी बीमालाई सुरक्षित भविष्यको आधारका रूपमा प्रस्तुत गर्छन्। उनका अनुसार बीमा केवल वित्तीय उत्पादन होइन, परिवारको आर्थिक सुरक्षाको माध्यम हो।
सन् २०२२ देखि २०२६ सम्म पाँच पटक एमडिआरटी दर्ता गरेका गुरुङले २०२२, २०२५ र २०२६ मा सीओटी उपलब्धि हासिल गरेका छन्। कम्पनीभित्र उनी अग्रणी र रोलमोडल अभिकर्ताका रूपमा चिनिन्छन्।
बीमालाई दैनिक जीवनसँग जोडेर सरल भाषामा बुझाउने शैली र बचत संस्कृतिको प्रवर्द्धनमा जोड दिने उनको दृष्टिकोणले उनलाई नेपाली बीमा क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
आर्थिकन्यूज