काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डीपी अर्यालले स्थानीय अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना, सार्वजनिक खर्चको दक्षता र उत्पादनमुखी विकासलाई प्राथमिकतामा राख्दै विस्तृत आर्थिक एजेन्डा सार्वजनिक गरेका छन्।
उनले बेरोजगारी न्यूनीकरणलाई आफ्नो मुख्य राजनीतिक लक्ष्यको रूपमा अघि सार्दै स्वरोजगार, सीप विकास र उद्यमशीलता विस्तारमार्फत क्षेत्रभित्रै आयआर्जनका अवसर सिर्जना गर्ने बताएका छन्। यसका लागि व्यावसायिक तालिम केन्द्र स्थापना गरी विदेशबाट फर्किएका युवालाई प्रशिक्षकका रूपमा परिचालन गर्ने योजना अघि सारिएको छ। सफल उद्यमीका अनुभव साझेदारी कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमै व्यवसाय सुरु गर्न उत्प्रेरणा दिने उनको भनाइ छ।
सार्वजनिक खर्चको दक्षता र पुँजीगत खर्च वृद्धि
अर्यालले बजेट विनियोजन र कार्यान्वयनबीच देखिने अन्तर घटाउँदै शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माण कार्यमा हुने ढिलासुस्ती, लागत वृद्धि र प्रशासनिक जटिलताले पुँजीगत खर्च न्यून हुने समस्या रहेको उल्लेख गर्दै उनले ‘शून्य पेन्डिङ’ सेवा प्रणाली लागू गर्ने बताएका छन्।
उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाई जनताको काम छोटो समयमै सम्पन्न गर्ने व्यवस्था गरिनेछ। विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रविधियुक्त प्रणालीमार्फत सेवा छिटो बनाएको अनुभवलाई स्थानीय विकास मोडलमा विस्तार गर्ने उनले बताएका छन्।
पूर्वाधारलाई आर्थिक गतिविधिसँग जोड्ने रणनीति
क्षेत्रभित्र सडक, पुल, ढल निकास, फोहोरमैला व्यवस्थापन र ट्राफिक जाम समाधानलाई आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको मुद्दा भन्दै उनले वैज्ञानिक व्यवस्थापनमा जोड दिएका छन्। कलंकी–सतुंगल–नागढुंगा तथा सीतापाइला–भीमढुंगा क्षेत्रलाई हरित कोरिडोरका रूपमा विकास गर्दा यातायात लागत घट्ने, व्यापार सहज हुने र लगानी आकर्षित हुने दाबी गरिएको छ।
मेलम्ची खानेपानी वितरण विस्तार, आकाशे पानी संकलन नीति, बाढी नियन्त्रण तथा खोला किनार सौन्दर्यीकरणलाई पनि दीर्घकालीन शहरी आर्थिक स्थायित्वसँग जोडिएको योजनाका रूपमा प्रस्तुत गरिएको छ।
पर्यटन, कृषि र सेवा क्षेत्रमार्फत आयआर्जन
अर्यालले कृषि पर्यटन, पर्या–पर्यटन र धार्मिक पर्यटनलाई क्षेत्रीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा अघि सारेका छन्। सेतो गुम्बा, इचंगुनारायण मन्दिर, इन्द्रदह, कालुपाण्डे समाधि, बद्रीनारायण धाम लगायतका स्थलको संरक्षण तथा प्रवर्द्धन गरी आन्तरिक र बाह्य पर्यटन विस्तार गर्ने योजना छ।
डाँडा र जंगल नजिकका होमस्टे, आधुनिक होटल र शहरी सम्पदा अवलोकनलाई एकीकृत गर्दै ‘विशिष्ट पर्यटकीय रुट’ सञ्चालन गर्ने तथा टुरिस्ट सटल बस र नाइट लाइनर सेवा सुरु गर्ने प्रस्ताव गरिएको छ। यसबाट होटल, यातायात, हस्तकला, कृषि उत्पादन र सेवा क्षेत्रमा रोजगारी विस्तार हुने अपेक्षा गरिएको छ।
सम्पत्ति अधिकार र क्षतिपूर्ति व्यवस्थापन
लालपुर्जा विहीन समुदायलाई कानुनसम्मत जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने, विकास आयोजनाबाट प्रभावितलाई समयमै मुआब्जा वितरण सुनिश्चित गर्ने तथा हाइटेन्सन लाइन प्रभावित क्षेत्रका बासिन्दालाई नियमसंगत क्षतिपूर्ति उपलब्ध गराउने विषयलाई उनले आर्थिक स्थायित्वसँग जोडेका छन्।
उनका अनुसार सम्पत्ति अधिकार स्पष्ट हुँदा निजी लगानी बढ्ने र स्थानीय अर्थतन्त्रमा पूँजी परिचालन सहज हुनेछ।
सामाजिक क्षेत्र र मानव पूँजी विकास
मानव पूँजी विकासलाई दीर्घकालीन आर्थिक वृद्धिको आधार मान्दै उनले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने बताएका छन्। सबै वडामा न्यूनतम २४ घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने तथा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।
शिक्षा, स्वास्थ्य र खेलकुद पूर्वाधार सुधारले उत्पादक जनशक्ति निर्माण हुने र दीर्घकालीन आर्थिक प्रतिफल प्राप्त हुने उनको भनाइ छ।
समावेशी अर्थतन्त्र र सुशासन
महिला, दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सेवा प्रवाह र आर्थिक अवसरमा समान पहुँच सुनिश्चित गर्ने नीति अघि सारिएको छ।
अर्यालले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई आर्थिक विकासको पूर्वशर्त भन्दै प्रत्येक वडामा नागरिक खबरदारी संयन्त्र गठन गर्ने, मासिक सार्वजनिक सुनुवाइ गर्ने र जनगुनासो ३० दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले उत्पादन वृद्धि, कृषिमा आत्मनिर्भरता, पर्यटन र जलस्रोतको उपयोगमार्फत निर्यातमुखी अर्थतन्त्रको आधार तयार गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
काठमाडौं–९ का मतदातासमक्ष आर्थिक रूपान्तरण, रोजगारी विस्तार र पारदर्शी शासन प्रणालीको प्रतिबद्धता प्रस्तुत गर्दै अर्यालले आगामी निर्वाचनमा घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।




आर्थिकन्यूज