वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। प्रमुख दलहरू नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच कडा प्रतिस्पर्धा देखिएको छ।
जसपाको आक्रामक अभियान
जसपा महासचिव तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीले बेलवामा आयोजित कार्यक्रममा बहुरूपिया उम्मेदवारबाट सावधान रहन मतदातालाई आग्रह गरे। उनले मधेसी हितको नाटक गर्ने दलहरूलाई आलोचना गर्दै जसपाको ‘छाता’ चिन्हमा मतदान गर्न अपिल गरे।
रास्वपामा जनलहर
रास्वपाका उम्मेदवार बुद्धिप्रसाद ९हरि० पन्तको समर्थनमा टेंढामा उल्लेखनीय जनसागर देखिएको छ। विभिन्न दल परित्याग गरी करिब ५०० भन्दा बढी स्थानीय रास्वपामा प्रवेश गरेका छन्। उम्मेदवार पन्तले जनताको उत्साहले आफूहरू उत्साहित भएको बताउँदै आगामी सरकार रास्वपाको नेतृत्वमा बन्ने दाबी गरे।
काँग्रेसको सक्रियता
नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङ्गटाले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। वीरगञ्जको मुर्लीमा आयोजित कार्यक्रममा करिब २५० जना एमाले र जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्। सहमहामन्त्री डा। डिना सङ्ग्रौलाले काँग्रेस मात्र देशको विकास र समृद्धि ल्याउने शक्ति भएको भन्दै ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरिन्।
एमालेको प्रचार
एमालेका उम्मेदवार प्रदीप यादवले घरदैलो अभियानलाई सक्रिय बनाएका छन्। पूर्व मन्त्री यादवले खानेपानी, स्वास्थ्य सेवा, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले इनार्वामा सम्पर्क कार्यालय उद्घाटन गर्दै जनतासँग प्रत्यक्ष संवादलाई सुदृढ गर्ने बताए।
जसपाको मधेसी मुद्दा
जसपाका उम्मेदवार रामनरेश यादवले मधेसी पहिचान, आरक्षण र अधिकार सुनिश्चितताका लागि ‘छाता’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। कार्यक्रममा जसपा महासचिव लालबाबु राउत गद्दीको उपस्थिति रहेको थियो।
त्रिकोणात्मक भिडन्त
पर्सा–१ मा काँग्रेस, रास्वपा र एमालेबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ भने जसपा पनि मधेसी मतदातामाझ प्रभाव विस्तार गर्ने प्रयासमा सक्रिय छ।
अब फागुन २१ गते हुने निर्वाचनले पुराना दलहरूको साख जोगिन्छ वा नयाँ शक्तिको उदय हुन्छ भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रित भएको छ। वीरगञ्जको मत परिणामले मधेसको राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।
आर्थिकन्यूज