शीर्षकहरू

२०२५ मा जीलीको ऐतिहासिक सफलता : २०३० सम्म विश्वका शीर्ष ५ भित्र पर्ने लक्ष्य

२०२५ मा जीलीको ऐतिहासिक सफलता : २०३० सम्म विश्वका शीर्ष ५ भित्र पर्ने लक्ष्य

काठमाडौं। जीली अटोमोबाइल होल्डिङ्स लिमिटेडले सन् २०२५ मा कीर्तिमानी व्यापार गर्दै विश्वव्यापी सवारी बजारमा आफ्नो वर्चस्व स्थापित गरेको छ। कम्पनीले गत वर्ष ३० लाख २० हजारभन्दा बढी सवारीसाधन बिक्री गरी ३९ प्रतिशतको उत्साहजनक वार्षिक वृद्धि हासिल गरेको छ।

यस अभूतपूर्व सफलतासँगै जीली  'वान जिली' इनोभेसन र इन्टिग्रेसनमा अग्रणी' नामक पाँचवर्षे रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ ।  जस अनुसार कम्पनीले सन् २०३० सम्ममा कम्पनीलाई विश्वकै शीर्ष ५ अटोमोबाइल समूहभित्र उभ्याउनु लक्ष लिएकाे छ।

विद्युतीय सवारीतर्फको तीव्र रूपान्तरण

सन् २०२५ को यो उपलब्धिमा 'न्यु इनर्जी भेहिकल' (NEV) को भूमिका निर्णायक रह्यो, जसको बिक्री झण्डै दोब्बरले बढेर १६ लाख ९० हजार युनिट पुगेको छ। जिलीको 'ग्यालेक्सी' शृङ्खलाले मात्र २९ महिनामा १० लाख युनिट बिक्री भएर अटाे उद्योगमै नयाँ कीर्तिमान कायम गरेको छ।

जिकर, भोल्भो, पोलस्टार र लोटससमेत सम्मिलित जिली होल्डिङ ग्रुपले समग्रमा ४१ लाख २० हजार सवारीसाधन डेलिभरी गर्दै विश्वको सातौँ ठूलो अटो निर्माता बन्न सफल भएको छ। 

रणनीतिक विस्तार र बजार प्रक्षेपण

सन् २०२६ का लागि जीलीले ३४ लाख ५० हजार युनिट बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ। कम्पनीले यसै वर्ष पारिवारिक सेडानदेखि विलासी एमपीभी (MPV) सम्मका १५ वटा नयाँ इलेक्ट्रिक मोडलहरू बजारमा उतार्ने योजना बनाएको छ।

अन्तर्राष्ट्रिय बजारलाई प्राथमिकतामा राख्दै जिलीले सन् २०२६ मा आफ्नो निर्यातलाई ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्ने लक्ष्य लिएको छ। विशेषगरी नेपाल जस्ता उदीयमान बजारमा जिलीले आफ्नो 'ईएक्स ५' (EX5) जस्ता मोडलमार्फत बलियो पकड जमाउँदै लगेको छ।

स्थानीय उत्पादन र साझेदारी

विश्वव्यापी व्यापारिक अवरोध र भन्सार शुल्कको चुनौतीलाई चिर्न जिलीले अब स्थानीय उत्पादन र रणनीतिक साझेदारीमा जोड दिएको छ। कम्पनीले उत्तर अमेरिकामा आफ्नो उपस्थिति बलियो बनाउन मेक्सिकोमा प्लान्ट स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिएको छ।
यसका साथै। रेनो र फोर्डजस्ता स्थापित विश्वव्यापी साझेदारहरूसँगको सहकार्यमार्फत उत्पादन लागत घटाउँदै प्रविधि हस्तान्तरणमा जिलीले ठूलो लगानी गरिरहेको छ।

सन् २०३० को मार्गचित्र : भविष्यको गतिशीलता

जिलीले सन् २०३० सम्ममा आफूलाई केवल कार निर्माताका रूपमा मात्र नभई 'भूमिदेखि आकाशसम्म'(Ground-to-Air) को मोबिलिटी इकोसिस्टमको नेतृत्वकर्ताका रूपमा हेरेको छ। यस रणनीतिक योजनाअन्तर्गत सन् २०३० सम्म वार्षिक ६५ लाख सवारीसाधन बिक्री गर्ने, जसमध्ये ७५ प्रतिशत हिस्सा विद्युतीय सवारीको हुने लक्ष्य राखिएको छ।

आगामी पाँच वर्षभित्र कम्पनीले १ लाख रोबोट्याक्सी परिचालन गर्ने, भू-उपग्रहमा आधारित कनेक्टिभिटी विकास गर्ने र मेथानोल(हाइड्रोजन जस्ता स्वच्छ ऊर्जाका विकल्पहरूलाई प्रवर्द्धन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ।

nullजीली अटोमोबाइलको परिचय

जीली अटोमोबाइल होल्डिङ्ग्स लिमिटेड एक बहुराष्ट्रिय अटोमोबाइल निर्माता कम्पनी हो, जसको मुख्यालय चीनको हाङ्जाउमा अवस्थित छ। यो कम्पनी विशेष गरी आधुनिक यात्रुवाहक सवारी साधनहरूको डिजाइन, निर्माण र विश्वव्यापी बिक्रीमा केन्द्रित रहेको छ। यसको ऐतिहासिक यात्रा सन् १९९७ मा सुरु भएको थियो ।

जीलीले आधिकारिक रूपमा अटोमोबाइल क्षेत्रमा आफ्नो कदम चालेसँगै  चिनियाँ अटो इतिहासमा यो कम्पनी पहिलो निजी अटोमोबाइल निर्माताका रूपमा चिनिन्छ। किनकि यसअघि चीनमा सवारी साधन उत्पादन गर्ने अधिकार सरकारी कम्पनीहरूमा मात्र सीमित रहेको थियो। व्यावसायिक उचाइ लिने क्रममा सन् २००५ मा यो कम्पनी हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भयो, जसले यसलाई हङकङमा सूचीकृत हुने पहिलो चिनियाँ कार निर्माताको गौरव दिलायो। 

कम्पनीले विभिन्न विशिष्ट ब्रान्डहरू मार्फत विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाइरहेको छ। यसको मुख्य र सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड 'जीली अटो' हो भने युवा पुस्ता र प्रविधिप्रेमी ग्राहकहरूका लागि भोल्भोको सहकार्यमा 'लिङ्क एन्ड को'  ब्रान्ड सञ्चालनमा छ। प्रिमियम इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा यसले 'जिकर' मार्फत प्रतिस्पर्धा गरिरहेको छ र नयाँ ऊर्जा भएका गाडीहरूका लागि 'जिली ग्यालेक्सी' नामक छुट्टै प्रिमियम सिरिज समेत सुरु गरेको छ।

प्राविधिक विकासका लागि कम्पनीले चीन, स्वीडेन, बेलायत र जर्मनीमा गरी पाँचवटा ठूला अनुसन्धान तथा विकास केन्द्रहरू स्थापना गरेको छ। यसले विश्व प्रसिद्ध अटो कम्पनीहरू जस्तै भोल्भो, लोटस र मर्सिडीज-बेन्जसँग विभिन्न प्राविधिक साझेदारी र लगानी समेत विस्तार गरेको छ।

नेपालको सन्दर्भमा यस कम्पनीका उत्पादनहरूलाई एलआरआर मोटर्सले आधिकारिक रूपमा भित्र्याएको छ, जहाँ हालै बजारमा आएको 'जीली एक्स फाइभ'ले आधुनिक चिनियाँ प्रविधि र सुरक्षाको नयाँ मानक स्थापित गर्ने प्रयास गरिरहेको छ।