शीर्षकहरू

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा जापानी लगानी ‘ब्याटलग्राउन्ड’ राज्यतर्फ केन्द्रित

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा जापानी लगानी ‘ब्याटलग्राउन्ड’ राज्यतर्फ केन्द्रित

वासिङ्टन । अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा प्रशासनले जापानसँग भएको द्विपक्षीय व्यापार समझदारीअन्तर्गत पहिलो चरणको लगानी प्रतिस्पर्धी मानिएका राज्यहरूमा केन्द्रित गरेको छ। ओहायो, जर्जिया र टेक्सासमा ठूला पूर्वाधार परियोजना घोषणा गरिनुले निर्वाचन नतिजामा प्रभाव पार्ने राज्यहरूमा आर्थिक उपलब्धि देखाउने हतारो देखिएको विश्लेषण गरिएको छ।

सम्झौताअनुसार ओहायोमा कृत्रिम बुद्धिमत्ता (एआई) डाटा सेन्टरका लागि ग्यास–आधारित विद्युत् उत्पादन परियोजनामा ३३.३ अर्ब डलर लगानी हुनेछ। टेक्सासमा कच्चा तेल निर्यात टर्मिनल र जर्जियामा औद्योगिक प्रयोगका लागि कृत्रिम हिरा उत्पादन केन्द्र स्थापना गरिनेछ। यी तीन परियोजनाको कुल लागत करिब ३६ अर्ब डलर रहने जनाइएको छ। जापानले समग्रमा ५५० अर्ब डलर अमेरिकामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ, जुन दुवै देशबीचको ट्यारिफ सम्झौतासँग जोडिएको छ।

ओहायो र जर्जिया यसपटक कडा प्रतिस्पर्धा हुने राज्यका रूपमा हेरिएका छन्। पछिल्ला सर्वेक्षणअनुसार ओहायोमा सिनेट र गभर्नर दुवै पदका लागि प्रतिस्पर्धा कडा देखिएको छ। जर्जिया सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटतर्फ झुकेको राज्य हो। टेक्सास परम्परागत रूपमा रिपब्लिकन प्रभाव क्षेत्र भए पनि हालैको विशेष चुनावमा डेमोक्र्याट उम्मेदवार विजयी भएका थिए।

अमेरिकी सर्वोच्च अदालतले ट्यारिफसम्बन्धी मुद्दामा छिट्टै फैसला सुनाउने तयारी गरिरहेकाले पनि प्रशासनले लगानी परियोजना छिटो सार्वजनिक गर्न खोजेको बताइएको छ। यदि ट्यारिफ असंवैधानिक ठहरिएमा अन्य देशसँग ट्यारिफको दबाबमा गरिएका सम्झौतामा असर पर्न सक्ने आकलन छ। त्यसैले संभावित कानुनी अनिश्चितताअघि नै ठोस परियोजना अघि बढाएर लगानी सुनिश्चित गर्न खोजिएको विश्लेषण गरिएको छ।

अमेरिकी वाणिज्य विभागले तयार पारेको कार्यविधिअनुसार जापानले डलरमा लगानी रकम अमेरिकी पक्षले तोकेको बैंक खातामा स्थानान्तरण गर्नेछ। वार्तामा संलग्न स्रोतहरूका अनुसार वर्षअन्त्यसम्म थप परियोजनाहरू घोषणा हुन सक्नेछन्।

अमेरिकाले दक्षिण कोरिया र युरोपेली संघसँग पनि यस्तै समझदारी गरिसकेको छ। वासिङ्टनले ती सम्झौताहरू कार्यान्वयनतर्फ तीव्रता दिन खोजिरहेको विश्लेषकहरूले बताएका छन्।